काठमाडौँ : नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ । बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ ।
जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।
डेब्यू खेल खेलेका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । सुसन भारीको नाममा १ विकेट रह्यो ।
त्यसअघि करन केसीले सानदार ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औँ सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौँ नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्ध शतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
तर १२ औँ ओभरमा दुवै खेलाडी आउट भएका थिए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्ति नै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी १७ बलमा ५ चौका र १ छक्का सहित ३३, विनोद भण्डारी ८ र कुशल मल्ल १९ रनमा आउट भए । मलेसिया फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अङ्कका साथ लिगमा शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । फाइनलमा नेदरल्यान्ड्स र नेपाल यस अघिनै पुगिसकेका थिए । फाइनल खेल शनिवार हुने छ ।