नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको सबै अपजस लिनुपर्ने भन्ने नहुने बताए ।
‘यो प्रकरणको उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’
यो प्रकरणमा नाम जोडिएर आफू नआत्तिएको उल्लेख गर्दै उनले खाएको विष मात्रै लाग्ने बताए ।
उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ ।’
नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताए ।
उनले सबै सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नुपर्ने, नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए ।