पछिल्लो सयम नेपाललाई कुनै खेलले एकपछि अर्को सफलता दिलाइरहेको छ भने त्यो क्रिकेट हो । क्रिकेटको सिनियर टोलीले पछिल्ला केही महिनामा जुन उपलब्धि हात पारेको छ, त्यसकै पदचाप पछ्याउँदै अन्डर नाइन्टिन टोलीले पनि सफतलाको शिखर चुमिरहेको छ ।
गत फागुनमा यूएईलाई पराजित गर्दै २०२४ मा हुने अन्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको नेपाली युवा टोलीले दसैंका दिन यूएईलाई नै पराजित गर्दै एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको च्याम्पियन बनेर आम नेपालीलाई खुसी साट्ने अर्को अवसर दियो । च्याम्पियन बन्नुअघिनै एसिया कपका लागि छनोट भएको नेपाल अब भारत र पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्न तयार छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा वर्षाले प्रभावित खेलमा यूएईलाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेपछि नेपाली युवा टोली उत्साहित छ । बिहीबार बिहान काठमाडौं अवतरण गरेको च्याम्पियन टोलीको अनुहारमा खुसी, उत्साह र उमंग देखिन्थ्यो ।
आठौं पटक एसिया कप खल्न लागेको नेपाली युवा टोली एसिया कपमा सम्मानजनक प्रदर्शनका बाबजुत सिनियर टोलीले भारत र पाकिस्तानसँग बेहोरेको हारको बदला लिन प्रतिबद्ध देखिन्छ । अन्डर नाइन्टिन उमेर समूहमा नेपालले भारतलाई पराजित गरिसकेको छ ।
टिमको लगातारको सफलताबाट सन्तुष्ट मुख्य प्रशिक्षक जगत टमाटाले अब एसिया कप र विश्वकपमा पनि यस्तै सफलता हात पार्ने योजनाको खाका बनाइसकेका छन् ।
नेपाललाई अन्डर नाइन्टिन प्रिमियर कपको उपाधि दिलाउन सबै खेलाडीको उत्तिकै मेहनत रह्यो । तीमध्ये पनि स्पिनर दीपेश कँडेल, कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको प्रदर्शन विशेष रहृयो । प्रतियोगिताकै सर्वाधिक रनकर्ता देवले २ शतक सहित २ सय ४२ रन बनाउादा अर्जुनले १ शतक र १ अर्धशतकको मद्दतमा २ सय ३८ रन बनाए । दीपेशले विपक्षीलाई क्रिजमा सेट हुनै दिएनन् । लगातार २ खेलमा ६-६ विकेट लिएका लेफ्ट आर्म स्पिनर दीपेश सर्वाधिक १८ विकेट लिदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । देशलाई उपाधि दिलाउन सकेकोमा उनीहरु निकै खुसी छन् ।
नेपाल हालसम्म ७ पटक अन्डर नाइन्टीन विश्वकप र ८ पटक एसिया कपमा छनोट भएको छ । अन्तिम पटक २०१६ मा विश्वकप खेलेको नेपालको युवा टोलीले तीन संस्करणको ब्रेकपछि २०२४ मा श्रीलंकमा प्रतिस्पर्धा गर्ने छ । त्यसअघि यही टिम डिसेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा सहभागी हुने छ ।