सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज सकिएको छ ।
सुर्मादेवी मन्दिर पछाडी पाँच दिनसम्म चलेको भलिबल प्रतियोगीतामा आज फाइनल चरणका तीनवटा खेलहरु सम्पन्न भएसँगै आज प्रतियोगीताको औपचारिक रुपमा समापन गरिएको हो । यस वर्ष भलिबल प्रतियोगीतामा पुरुष तर्फ प्रथम स्थान छबिसपाथिभेरा गाउँपालिकाले हात पारेको छ । उसले जीतसँगै नगद एक लाख एक हजार एक सय एघार रुपैंयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि हात पारेको छ ।
दोस्रो स्थान उपबिजेता थलारा गाउँपालिकाले हात पारेको छ । उसले पनि रु ५५ हजार ५ सय ५५ रुपैँयासँगै ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ ।
यस्तै तेस्रो स्थान हात पारेको जयपृथ्वी नगरपालिकाले पनि रु ३३ हजार ३ सय ३३ सँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रथम बिजेता छबिसले बेष्ट अफ फाइभ अन्तर्गत थलारा गाउँपालिकासँग रोचक प्रतिस्पर्धा गर्दै तीनवटै सेट हात पारेको थियो । उपबिजेता थलाराले पनि छबिसलाई दबाबमा राख्दै प्रथम स्थान सुरक्षित गर्न चाहन्थ्यो तर हरेक सेटको अन्तिमतिर उ झुक्किन असफल भयो । यस्तै तेस्रो स्थानका लागि भिडेका जयपृथ्वी नगरपालिका र बिक्युब युथ क्लब छबिसपाथिभेराले पनि दर्शकहरुलाई निकै मनोरञ्जन दिएका थिए ।
महिला तर्फको प्रतियोगीतामा राष्ट्रिय खेलाडी गरिमा बोहरा नेतृत्वको बित्थडचिर गाउँपालिकाले प्रियङ्का भण्डारी नेतृत्वको छबिसपाथिभेरा गाउँपालिकालाई पराजित गर्दै प्रथम उपाधि हात पारेको छ । जितसँगै बित्थडचिर गाउँपालिकाले रु ४४ हजार ४ सय ४४ रुपैँयासहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने बित्थडचिरसँग हार व्यहोरेर दोस्रो स्थानमा चित्त बुझाउन सफल छबिसपाथिभेरा गाउँपालिकाले रु २५ हजार ५ सय ५५ नगद रकमसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
जयपृथ्वी नगरपालिकाले हिजै मष्टा गाउँपालिकालाई पराजित गरि तेस्रो स्थान कब्जा गरेको थियो । उसले रु १६ हजार ६ सय ६६ रुपैँयासहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ । साथै यस प्रतियोगीतामा महिला तर्फ उदयमान खेलाडीका रुपमा जयपृथ्वी नगरपालिकाको टिमबाट खेल्ने सुजाता विष्ट, सर्वोत्कृष्ट खेलाडीमा बित्थडचिरकी टिम कप्तान गरिमा बोहरा र अनुसासित खेलाडीमा छबिसपाथिभेराकी टिम कप्तान प्रियङ्का भण्डारी र पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी छबिसपाथिभेराका अनिल सिंह, उदयमान खेलाडी बित्थडचिर गाउँपालिकाको टिमबाट खेलेका सुनिल धामीलाई र अनुसासनमा जयपृथ्वीका खेलाडी राजन सिंहलाई पुरस्कार प्रदान गरिएको छ ।