पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने सयौं घर क्षतिग्रस्त भएका छन् ।
कान्तिपुरका जिल्ला संवाददाताहरूले शनिबार बिहानसम्म स्थानीय बासिन्दा, जनप्रतिनिधि, प्रहरी प्रशासन र कर्मचारीबाट लिएको विवरणअनुसार रुकुम पश्चिममा ३६ र जाजरकोटमा ४० जनाको मृत्यु भएको छ । राति भएकाले क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भेरी नगरपालिकामा ३ र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै धेरै ठाउँमा घर भत्किएर घाइते भएका खबरहरू प्राप्त भइरहेको बताए । ‘उद्धारको काम भइरहेकाले अहिले नै क्षतिको यकिन विवरण भन्न सकिने अवस्था छैन्,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने । जाजरकोट जिल्ला अस्पतालका अनुसार, राति साढे १ बजेसम्म ४० जना घाइते उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको पुष्टि गरे ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताए । उनले आफ्नो गाउँमा मात्रै ८ जनाको मृत्यु भएको सूचना पाएको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताए । उनले भने, ‘नचर्किएका घर नै छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षती भएको हुनसक्छ,’ जिल्ला अस्पतालमा एक सयभन्दा धेरै घाइतेहरू पुगिसकेको बताउँदै उनले भने, ‘घाइतेहरूको उद्धार गर्न एम्बुलेन्स र गाडीहरूको अभाव भइरहेको छ ।’
कालीकोट जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । कर्णाली प्रदेश प्रहरीका डीआईजी भिमप्रसाद ढकालका अनुसार जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरीक्षक यमराज रोकाय घाइते भएका छन् । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको बताए । डीआईजी ढकालको भनाइमा घाइतेहरूको उद्धारका निम्ति प्रहरी परिचालन गरिएको छ । उनले सुर्खेतबाट मात्रै राति २ बजे ४० जनाको थप उद्धार टोली क्षतिग्रस्त ठाउँहरूमा पठाइएको बताए ।
भूकम्पले सल्यानका ग्रामीण भेगमा पनि भौतिक क्षति पुगेको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जिल्लाको उत्तरी क्षेत्रबाट घर भत्किएको खबर आइरहेको र मानवीय क्षतिबारे केही जानकारी नआएको बताए ।