नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा छ । टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो ।
नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित हात पारेपछि वरियता पनि सुधार गरेको भएको हो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।
नेपाल २४ खेलमा ४ हजार ३ सय ७७ अंक र १८२ रेटिङका साथ १५ औं स्थानमा छ । उता नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ । नेदरल्यान्ड्सलाई एक रेटिङ अंकले पछि पार्दै सुधार गरेको हो ।
स्कटल्यान्ड १४ औं, आयरल्यान्ड १३ औं, नामिबिया १२ औं, जिम्बावे ११ औं र अफगानिस्तान १० औं स्थानमा छन् । भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, वेस्टइन्डिज सातौं, श्रीलंका आठौं र बंगलादेश नवौं स्थानमा छन् ।
युएई १७ औं, ओमान १८ औं र पपुवा न्युगिनी १९ औं स्थानमा छन् । क्यामरुन सबैभन्दा पुछार ८७ औं स्थान छ । नेपालले विश्वकप छनोटमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो ।
ओमानसँग पाँच रनले हारेको थियो । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले उपाधिको लागि आइतबार ओमानसँग खेल्नेछ ।