इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ । यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।
जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।
ओपनर वेस्ली ब्यारेसी ६२ बलमा ३ चौका र १ छक्कासहित ३७, म्याक्स ओडाउड ५, कोलिन एकरम्यान शून्य, बास डि लिड १०, स्कट एडवार्ड्स ३८ र साइब्रांड एंगेलब्रेक्ट ३३ रनमा आउट भए ।
इंग्ल्यान्डका आदिल राशिदले ८ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । मोईन अलीले ८.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले दुई र क्रिस वोक्सले एक विकेट लिए ।
त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङको रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेले ।
सातौं विकेटका लागि स्टोक्स र क्रिस वोक्सले ८१ बलमा १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए । वोक्स ४५ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।
ओपनर डेविड मलान ७४ बलमा १० चौका र २ छक्कासहित ८७ रनमा रन आउट भए । ओपनर जोनी बेयरस्टो १५, जो रुट २८, ह्यारी ब्रुक ११, जस बटलर ५ र मोईन अली ४ रनमा आउट भए ।
नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । अर्यान दत्तले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए । लोगन भान बिकले १० ओभरमा ८८ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले एक विकेट लिए ।
इंग्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौं स्थानमा छ । बंगलादेश ८ खेलमा ४ अंकका साथ आठौं स्थानमा छ । श्रीलंका र नेदरल्यान्ड्स पनि ४-४ अंक भएपनि नवौं र पुछारमा छन् ।
सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यस विश्वकपका पाकिस्तान बाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् । अव इंग्ल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स मध्य दुई टोलीले खेल्न पाउनेछन् । सबै टोलीले समान एक खेल खेल्न बाँकी छ । यो जितले इंग्ल्यान्डको नेटरनरेटमा सुधार भएको हुँदा सम्भावना बढेको हो ।