बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज क्वाटर फाइनल र सेमिफाइनल चरणका गरि पुरुष तर्फका पाँच वटा खेल सम्पन्न भएका छन् ।
क्वाटर फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा बुंगल नगरपालिका र मष्टा गाउँपालिकाबीच भिडन्त भएकोमा बुंगल नगरपालिकाले दुई सुन्यको सोझो सेटले मष्टा गाउँपालिकामाथि जित हात पारेको छ ।
जयपृथ्वी नगरपालिका र बित्थडचिर गाउँपालिकाबीच भएको दोस्रो खेलमा जयपृथ्वीले दुई सुन्यको सेटमा बित्थडचिरलाई हराउँदै जित हात पारेको थियो ।
छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकाबीचको तेस्रो खेलमा केदारस्युँ गाउँपालिकाले दुई सुन्य सेटमा छबिसपाथिभेरालाई हराउँदै जीत हात पारेको थियो । यस्तै आजै सम्पन्न भएका दुई वटा सेमिफाइनल चरणका दुईवटा खेलमा छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिका फाइनल प्रवेश गरेका छन् ।
सेमिफाइनल चरण अन्तर्गत पहिलो खेलमा पोल एको बिजेता बुंगल नगरपालिका र पोल बीको उपबिजेता छबिसपाथिभेराबीच भएको खेलमा छबिसपाथिभेराले बुंगलबिरुद्ध दुई सुन्य सेटको जित हात पार्दै फाइनल प्रवेश गरेको छ भने पोल बिको बिजेता केदारस्युँ गाउँपालिका र पोल ए को उपबिजेता जयपृथ्वी नगरपालिकाबीच भएको दोस्रो खेलमा केदारस्युँ गाउँपालिकाले पनि जयपृथ्वी नगरपालिका विरुद्ध दुई सुन्य सेटले जित हात पार्दै फाइनल प्रवेश गरेको छ । भोली फाइनल चरणका तीनवट खेल हुने भएका छन् ।
भोली हुने पहिलो खेलमा पुरुष तर्फको तृतिय स्थानका लागि बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिका भीड्ने भएका छन् । यस्तै दोस्रो फाइनल खेलमा महिला तर्फ प्रथम स्थानका बित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकाबीच भिडन्त हुने भएको छ भने अन्तिम फाइनल खेल पुरुष तर्फ प्रथम स्थानका लागि छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिका भिड्ने भएका छन् ।
बुंगल नगर खेलकुद विकास समितिद्धारा सञ्चालन भइरहेको जिल्ला अन्तर पालिका स्तरिय भलिबल प्रतियोगीतामा पुरुष ८ टिम र महिला ६ टिम सहभागी रहेको बुंगल नगर खेलकुद विकास समितिका सदस्य सुरेश ताम्राकारले बताउनुभयो । भोली फाइनल चरणका खेल खेलाएर पुरस्कार वितरणसँगै प्रतियोगीताको औपचारिक रुपमा समापन हुने पनि ताम्राकारले बताउनुभयो ।