सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा छिमेकी टोली कर्णाली प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित हात पारेको छ ।
जितको लागि २ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । कर्णालीका दीवान पुनले ५२ बला ५ चौकासहित सर्वाधिक ३८ रन बनाए । अर्जुन घर्ती २४ र दिनेश अधिकारी २० रनमा आउट भए ।
सुदूरपश्चिम प्रदेशका शेर मल्लले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । विशाक आग्रीले दुई, नरेन भट्ट, नारायण जोशी र भोजराज भट्टले १-१ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो ।
ओपनर खडक बोहराले १ सय १४ बलमा ६ चौकासहित सर्वाधिक ८० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे ।
सुदूरलाई सानदार सुरुवात दिलाउन पहिलो विकेटका लागि टेक र खडकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन् । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान तोडेका हुन् ।
नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक अन्त्य गरे । जोशी १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे ।
किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए । राजु रिजाल १९ र नरेश भट्ट १५ रनमा आउट भए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट लिए ।