काठमाडौं : सरकारले जेठ २५ गतेदेखि हुने तय भएको राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन गरेको छ। ६० वर्षपछि पहिलो पटक जनगणना रोकिएको हो। अब अर्को निर्णय नभएसम्म जनगणनासम्बन्धी सबै कार्यक्रम स्थगन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनिश्चित कालसम्म रोक्ने निर्णय गरेको हो। विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषद्ले निर्णय गरेको आफूले सुनेको जानकारी दिँदै चिठी भने आइनसकेको बताए। १२ औं जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। त्यसका लागि देशभर सुपरिवेक्षकको तालिम चलिरहेको थियो। यो तालिम पनि मन्त्रिपरिषद्को निर्णयसँगै रोकिएको छ।
‘सुपरिवेक्षकको तालिमको पाँचौं दिनमा पुगेको थियो’, निर्देशक लामिछानेले भने, ‘कोरोनाको कारण केही स्थानमा पहिले स्थगन भएको थियो।’ महामारीबीच जनगणना गर्दा गुणस्तरीय तथ्यांक आउन नसक्ने भएकाले स्थगन जरुरी भएको लामिछानेको भनाइ छ।
लामिछानेका अनुसार २००८ सालमा हुनुपर्ने जनगणना राजनीतिक परिवर्तनका कारण २००९ र २०११ सालमा दुई चरणमा गरिएको थियो। त्यसपछि ०१८ सालदेखि हरेक १० वर्षमा जनगणना हुँदै आएको छ। १९६८ सालदेखि १०÷१० वर्षमा जनगणना हुँदै आएको हो। अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि प्रत्येक १०÷१० वर्षमा उही मितिमा जनगणना हुनुपर्छ।
‘परिस्थिति सहज हुँदा जनगणना तोकिएकै मितिमा हुनुपर्ने मान्यता छ। तथ्यांकमा एकरूपता पनि आउँछ। तर, जटिल परिस्थितिमा थोरै यताउता भएका उदाहरण छन्’, उनले भने ।
‘२०७८ मा गर्ने भन्ने त संविधानमा तोकिएको छ। यो वर्षभित्र हुँदा यस्तो तथ्यांकमा खासै फरक पर्दैन।’ विभागले जनगणनाका धेरै तयारी पूरा गरेको थियो। ८७ स्थानमा जनगणना कार्यालय वैशाख १ गते नै स्थापना गरिएको थियो।
वैशाख १६ देखि ८ हजार सुपरिवेक्षकको तालिम भइरहेको थियो। यही वैशाख २६ गतेदेखि घरपरिवार सूचीकरणको कार्य सुरु हँुदै थियो। सुरपरिक्षवेक्षक र विभागका कर्मचारीले घरपरिवारको सूचिकरण कार्य वैशाख २६ देखि जेठ १४ सम्म घरपरिवारको लगत लिने विभागको कार्यतालिका थियो। विभागले ३९ हजार जना गणक छनोटको नामावली वैशाख २६ गतेपछि प्रकाशन गर्ने तयारी गरेको थियो।
अनलाइन आवेदनका आधारमा उनीहरूलाई छनोट गरिँदै थियो। तालिकाअनुसार जेठ १७ देखि २२ सम्म गणकलाई तालिम दिने तय भएको थियो। जेठ २५ देखि असार ८ गतेसम्म जनगणना कार्य हुने कार्यतालिका थियो। कोरानासँग जुध्दै गत वर्ष पाइलट जनगणना गरेको विभाग तीब्र रूपमा तयारीमा जुटेको थियो। यसपटक स्थिति झन जटिल हुँदै गएपछि स्थगनको अवस्थामा पुगेको हो।