काठमाडौं : आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । कम्पनीले एक महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी आन्तरिक परीक्षण थालेको हो ।
यो सेवा सुरु भएसँगै टेलिकमका प्रयोगकर्ताले कम्पनीको मोबाइल नेटवर्क कमजोर रहेको स्थानमा अथवा नेटवर्क नै नभएको स्थानमा समेत भीओएलटीई (फोरजीमा आधारित एचडी भ्वाइस, भिडिओ र एसएमएस) सेवा प्रयोग गर्न सक्नेछन् । तर त्यसका लागि वाईफाई कनेक्सन भने आवश्यक पर्नेछ ।
यो सेवाले मोबाइल नेटवर्क कमजोर भएको ठूला बिल्डिङभित्रबाट वाईफाई कनेक्ट गरी टेलिकमको नेटवर्कमा कुराकानी गर्न सकिनेछ । यति मात्र होइन, टेलिकमको मोबाइल साथमा बोकेर विदेश जाँदा समेत वाईफाईमा जोडिएर कम्पनीको सेवा सुचारु राख्न सकिनेछ ।
भीओएलटीईसँगै भीओवाईफाई सेवा समेत सञ्चालनमा ल्याउने योजना रहेको भए पनि थप परीक्षण गर्नुपर्ने भएकाले केही समय कुर्नुपर्ने टेलिकमले जनाएको छ । भर्खरै सञ्चालनमा आएको भीओएलटीई सुचारु गरेजस्तै गरी सेटिङमा गएर यो सेवा प्रयोग गर्न सकिनेछ ।
त्यसपछि भाइबर, ह्वाट्सएप जस्ता एपहरुमा जस्तै सोझै मोबाइल नम्बर डायल गरेर भ्वाइस तथा भिडिओ कल र म्यासेज सेवा चलाउन सकिनेछ । यद्यपी भीओएलटीई तथा भीओवाईफाई सेवाका लागि टेलिकमको सिस्टमसँगै सम्बन्धित मोबाइल निर्माता कम्पनीहरुले आफ्ना सेटहरुमा त्यसलाई इनेबल गरिदिनुपर्ने हुन्छ ।
यसका लागि सेट भेन्डरमार्फत विभिन्न मोबाइल निर्माता ब्राण्डहरुसँग सम्वाद चलिरहेको टेलिकमको मोबाइल निर्देशनालयकी निर्देशक मिनू प्रधानले जानकारी दिइन् ।
उनले भनिन्, ‘आन्तरिक परीक्षण पुरा भएको खण्डमा अबको एक महिनाभित्र सामान्य प्रयोगकर्ताले समेत प्रयोग गर्न सक्नेगरी परीक्षणमा जाने योजना छ ।’ विश्वका अन्य देशहरुमा यी सेवाहरु वर्षौंदेखि उपलब्ध भए पनि नेपालको सन्दर्भमा भने नयाँ हुन् ।
कसरी सुचारु गर्ने ?
नेपाल टेलिकमले नेपालमै पहिलो पटक आजदेखि भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा सञ्चालनमा ल्याएको छ । परीक्षणको रुपमा सञ्चालनमा आएको यो सेवा सुरुवाती चरणमा केही सीमित मोबाइल सेटहरुमा मात्रै चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा मात्रै हाल यो सेवा उपलब्ध छ । क्रमशः अन्य मोबाइलहरुमा समेत सेवा विस्तार गर्दै लैजाने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।
सामान्यतयाः *444# डायल गरी २ मा थिच्नुभयो भने तपाईंको मोबाइल नम्बरमा टेलिकमको भीओएलटीई सेवा एक्टिभ हुन्छ । तर यसका लागि तपाईंको मोबाइल सेटले यो सेवा सपोर्ट गर्नुका साथै सम्बन्धित मोबाइल निर्माता कम्पनीले समेत टेलिकमको भीओएलटीईलाई आफ्नो सिस्टममा इनेबल गर्नुपर्ने हुन्छ ।
नेपाल टेलिकमको मोबाइल निर्देशनालयकी निर्देशक विनु प्रधानका अनुसार विभिन्न भेण्डरहरुमार्फत मोबाइल निर्माता ब्राण्डहरुसँग यसका लागि सम्वाद चलिरहेको छ । ‘सबै सेटहरुमा चल्ने अवस्था नबनिसकेकै भएर यसलाई हामीले परीक्षण भनेका हौं,’ उनले भनिनन् ।
आईफोनले भीओएलटीई सपोर्ट गरेपनि भीओएलटीईमा रहँदा एसएमएस प्राप्त गर्ने क्रममा केही समस्या देखिएको छ । यो समस्या समाधानका लागि आईफोन निर्माता कम्पनी एप्पलसँग सम्वाद चलिरहेको टेलिकमले जनाएको छ ।
यदि तपाईंको मोबाइलमा भीओएलटीई एक्टिभ गर्दा राम्रोसँग चलेन भने *444# डायल गरी अंक ३ थिचेर यो सेवा डिएक्टिभ गर्न सक्नुहुनेछ । टेलिकमले भीओएलटीई सेवाको परीक्षणका लागि यसमा रहेर गरिने भ्वाइस तथा भिडिओ कलका लागि छुट्टै प्याक समेत उपलब्ध गराउनेछ ।
यो सेवा प्रयोग गर्न तपाईंको मोबाइलको डेटा खर्च हुँदैन । भ्वाइस नेटवर्कबाटै चल्ने भएकाले यसको शुल्क नियमित भ्वाइस कल गरेकै सरह अर्थात प्रति मिनेट एक रुपैयाँ ५० पैसा प्रति मिनेट लाग्नेछ ।
यद्यपी भोलिको दिनमा टेलिकमले यो सेवाका लागि अन्य प्याकेज समेत ल्याउने तयारी गरिरहेको छ । त्यस्तो अवस्थामा तपाईंले हाल भ्वाइस कल तथा डेटामा जस्तै भीओएलटीईमा भिडिओ तथा भ्वाइस कलका लाग सस्तो प्याकेज पाउनु हुनेछ ।
हाललाई यो सेवा सुचार गराउने ग्राहकले पहिलो पटकमा १०० मिनेट निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउनेछन् । त्यसका लागि तपाईंले *111# डायल गर्नुपरेर त्यसमा उपलब्ध निःशुल्क प्याकेज रोज्नुपर्ने हुन्छ ।
तपाईंको मोबाइलमा भीओएलटीई चल्ने अवस्थामा मात्रै यो नम्बरमा डायल गर्न सक्नुहुनेछ । यसको अर्थ तपाईंको मोबाइलमा भीओएलटीई सेवा चल्छ कि चल्दैन भन्ने कुरा थाहा पाउने सबैभन्दा सजिलो तरिका भनेकै *111# डायल गर्नु हो ।
किन भने यो नम्बरमा टुजी, थ्रीजी र भीओएलटीई बिनाको फोरजीबाट डायल गर्न सकिँदैन । भिओएलटीई चल्ने अवस्थामा मात्रै यसका लागि आवश्यक प्याक लिन सकिन्छ ।
यतिगरिसकेपछि आफ्नो मोबाइलको डेटा अन गर्ने स्थानमा केही बेर थिच्नुहोस् । अब त्यहाँ नेपाल टेलिकम भएको स्थानमा दबाउनुहोस् र तल रहेको यूज भीओएलटीई (Use VoLTE) सेवा अन गर्नुहोस् ।
तपाईंको मोबाइलमा यो सेवा सञ्चालन भएको खण्डमा माथि मोबाइल टावरसँगै भीओएलटीई (VoLTE) लेखिएको देखिनेछ । सामान्य अवस्थामा देखिएन भने अघि जस्तै डेटा अन गर्ने स्थानमा जानुभयो भने थाहा पाउन सकिन्छ ।
यदि तपाईंको मोबाइलमा यो सेवा सुचारु भयो भने भीओएलटीई एक्टिभ भएको अर्को कुनै नम्बरमा डाल गर्दा एचडी भ्वाइस कलको अनुभव गर्न सक्नुहुनेछ । साथै भ्वाइस कल गरेजस्तै भिडिओ कलको विकल्प समेत डायल प्याडमै देखिनेछ ।
टेलिकमले भीओएलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको सूची आफ्नो वेबसाइटमा अपडेट गरिरहेको छ । तपाईं ग्रामीण क्षेत्रमा हुनुहुन्छ र मोबाइलमा ८०० मेगाहर्जको फोरजी सपोर्ट छैन भने तपाईंले टेलिकमको फोरजी र भीओएलटीई सेवा प्रयोग गर्न सक्नुहुन्न ।
तर १८०० मेगाहर्जको फोरजी सपोर्ट छ अथवा तपाईंको मोबाइलमा सहरी क्षेत्रमा फोरजी सेवा चलिरहेको छ र टेलिकमले भीओएलटीई सेवा चलाउन सकिने मोबाइलको सूचीमा तपाईंले प्रयोग गरिरहेको मोबाइल सेट छ भने पनि यो सेवा चलाउन सकिन्छ ।
यी मोबाइल सेटमा चल्छ टेलिकमको भीओएलटीई
- Samsung Galaxy M01s
- Samsung Galaxy M02
- Samsung Galaxy M02s
- Samsung Galaxy M11
- Samsung Galaxy M12
- Samsung Galaxy M21
- Samsung Galaxy M30s
- Samsung Galaxy M31
- Samsung Galaxy A12
- Samsung Galaxy A51
- Samsung Galaxy A52
- Samsung Galaxy A70
- Samsung Galaxy A70s
- Samsung Galaxy A71
- Samsung Galaxy A72
- Samsung Galaxy Note 10 Lite
- Samsung Galaxy S10
- Samsung Galaxy S10+
- Samsung Galaxy S10e
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 ultra
- Samsung Galaxy S20 FE
- Samsung Galaxy S21
- Samsung Galaxy S21+
- Samsung Galaxy S21 Ultra
- Samsung Galaxy Note 10
- Samsung Galaxy Note 10+
- Samsung Galaxy Note 20
- Samsung Note 20 Ultra
- Samsung Galaxy Z Fold2
- Xiaomi Redmi 9 Prime
- Xiaomi Mi10
- Xiaomi Redmi 9C
- Xiaomi Redmi Note 9 Pro
- Xiaomi Redmi 8A
- Nokia 5.3
- Nokia 7.2
- Nokia 3.4