नेपालमा १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै छ। यही शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।
प्रतियोगितामा सहभागी हुन नेदरल्यान्ड्स र मलेसियाको टोली मंगलबार मात्रै काठमाडौं आइपुगेका छन्। यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वा एसियाली क्रिकेट काउन्सिल (आइसिसी) को आधिकारिक प्रतियोगिता होइन।
यद्यपि, नेपाली टोलीले घरेलु त्रिवि क्रिकेट मैदानमा १४ महिनापछि पहिलोपटक विदेशी टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले आफ्नो अन्तर्राष्ट्रिय स्तरको एक मात्र रंगशालामा पछिल्लोपटक ०७६ माघमा आइसिसी विश्वकप लिग दुईअन्तर्गत ओमान र अमेरिका सम्मिलित शृंखला खेलेको थियो।
दोहोरो राउन्ड रोविन लिग प्रणालीमा भएको उक्त प्रतियोगितामा नेपालले ओमानसँगको दुईमध्ये दुवै खेल गुमाएको थियो भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो। त्यसको झन्डै महिना दिनपछि ११ चैत २०७६ बाट कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपालमा लकडाउनको घोषणा हुँदा अन्य गतिविधिसँगै खेलकुद ठप्प बनेको थियो।
लकडाउनका कारण लामो समयसम्म कुनै पनि प्रतियोगिता आयोजना हुन सकेन। भाइरस संक्रमण बिस्तारै कम हुँदै गएपछि घरेलु प्रतियोगिता आयोजना सम्भव भयो। संक्रमण कम भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर महिला र पुरुषतर्फ प्रधानमन्त्रीकप र मेयरकप क्रिकेट प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ।
यद्यपि, अन्य देशमा भाइरस संक्रमण नियन्त्रणबाहिरै देखिएका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव भइरहेको थिएन। पछिल्लो समय नेदरल्यान्ड्स र मलेसिया नेपालमा खेल्न इच्छुक देखिएपछि त्रिदेशीय शृंखला सम्भव भएको हो।
नेपाल आइपुगेका दुवै देशका खेलाडीहरू केही दिनको क्वारेन्टिन बसाइमा हुनेछन्। उनीहरूको बुधबार पिसिआर परीक्षण गरिनेछ। पिसिआर परीक्षणको नतिजा ‘नेगेटिभ’ आएपछि मात्रै उनीहरूले अभ्यास गर्न अनुमति पाउनेछन्।