बझाङ : २०७७ साल जेठको पहिलो साता कटे जेठारासहित मल्लेसी गाउँका चारपाँच जना मजदुरीका लागि भारतको पिथौरागढमा लागे । दुइ दिनको यात्रापछि कटे र उनका साथीहरु पिथौरागढ पुगे । पुगेकै भोलीपल्ट उनीहरु कामको खोजीमा लागे । घर बनाउने काम पाए । काम पनि राम्रै थियो । काम गर्दा निधारबाट तररर....चुहिएका पसिनालाई दायाँ हातले लुरुक्क पुछ्दै कटे मनमनै सम्झन्थे यसपाली श्रीमति र छोराछोरीलाई एकसरो लुगा फेरि दिनु छ । वर्षदिनमा एकसरो नयाँ लुगा पाउँदा श्रीमती र छोराछारी आडैमा आएर अँगालो हाल्ने छन् । पारिवारिक खुशीलाई थाती राख्दै फेरि थप्थे काँधमा इँटाको भारी । दिनभरीको कामले शरिर साँझ बासस्थानमा पुग्दा फत्रक्क थाकेको हुन्थो । तर कटेको मनमा साँचिएका सपनाले उनलाई थकान महशुस गर्न दिदैनथ्यो । कटे भोली फेरि सवेरै उठेर सधैंझै काममा जान्थे ।
भन्छन् “पारिवारको खुशीलाई सम्झदाँ लागेको थकान हराउँथ्यो । मिल्थ्यो त रातमा पनि काम गरेर सबैभन्दा बढी पैसा कमाउने थिएँ । तर मेरो खुसीमा दैवको आँखा लाग्यो ।” यो वास्तविक कथा केदारस्यूँ गाउँपालिका - ८ मल्लेसी गाउँका कटे जेठाराको हो । दैनिक श्रम गरेर परिवारको खुसी आनाआना गरेर जोड्ने कटेलाई दैवले एकपटकलाई थिचिने गरी पिडा दियो । आना आनामा जोडिएको खुसीको जालो एकै झट्कामा हिलोसँगै विलय भयो । “मिठो मसिनो खान परिश्रम गर्नै पर्ने भएपनि भगवानले मलाई एक न एक दिन खुशी दिने छन्, शुख दिने छन्, भन्ने विश्वास थियो । तर भगवान पापि रहेछन्, भएको खुसी समेत लुटेर गए ।” कटेले भने । कुरा गर्दागर्दै आँखाभरी आँसुको आहाल थियो । सायद उनले आँसु देखाउन चाहेनन्, बाँया तिर फर्किएर आँसु पुछेर फेरि मै तिर फर्किए ।
कटे र उनका साथीहरु पिथौरागढमा काम गर्न थालेको पनि एक महिनाभन्दा बढी नै भयो । थप एक महिना काम गरेर घर फर्कनै सल्लाह थियो । विश्वभर कोरोना महामारीको कारण लकडाउन थियो । पिथौरागढमा पनि लगडाउन थियो । तर निर्माणका काम भने संञ्चालनमा थिए । कटे सम्झन्छन् “असारको १८ गते राती खाना खाएर सवैजना सुत्यौ । खै किन हो मलाई आदि रात वितिसक्दा पनि निन्द्राले छाएन् । सायद ३ वजे तिर निन्द्रामा परेछु । सुतेको एकघण्टा नवित्दै गाउँबाट फोन आयो । एक्कासी विहानै फोन आँउदा मनमा अनेक तर्कना खेल्न थाले । मन डरायो तर पनि हिम्मत जोटाएर फोन उठाए ।” भक्कानिदै कटेले भने “मैले सोचेभन्दा फरक खबर सुने । मन टुक्रियो, मैले देख्ने संसारमा अध्याँरो छायो।”
एक्कासी एकाबिहानै घरबाट फोन आउँदा घरमा कोही विरामी भयो कि भन्ने मनमा सोचेका कटेलाई पहिरोमा परि घरका सबै सदस्य बेपत्ता भन्ने खवर आयो । “अपत्यारीलो खबर पत्याउने मुटु थिएन् तर पनि मैसँग गएका अन्य साथीहरुले समेत फोन गर्दा गाँउमाथिबाट एक्कासी पहिरो फुटेर गाउँ नै बगाएको भन्ने सुनेपछि पत्याउनै पर्यो” उनले भने । खवर सुन्ने वित्तिकै उनी नेपाल आउने तयारी गरे । लकडाउन भएका कारण घर बनाउने काम गरेको आधा महिनाभन्दा बढीको पैसा ठेकेदारले दिएको थिएन् । नेपाल आउने नाकामा कडाई थियो । बल्लतल्ल उनी जीप बुकिङ गरेर बझाङ पुगे । “बझाङ त पुगेँ तर घर पुग्न मैले १५ दिन क्वारेन्टाइनमा बस्नु पर्यो । जिल्ला बाहिरबाट आएका हरुलाई क्वारेन्टाइनमा राख्ने गरेको रहेछ गाँउपालिकाले । त्यसपछि म बाग्थलाको शिक्षोदय मावीमा बनाइएको क्वारेन्टाइनमा बसेँ ।”
कटे क्वारेन्टाइनमा बसेको १४ दिनपछि कोरोना जाँच गरियो । “पछिल्लो दिन रिर्पाेट पनि आयो । कोरोना रिर्पाेट त नेगेटिभ आयो । तर कटेको कानले पराइको भूमिका सुनेको खबर नेगेटिभ हुन सकेन् । क्वारेन्टाइनबाट मुक्तपछि साउन ३ गते गाउँ पुग्दा पुरै सन्नाँटा छाएको थियो । गाउँका धारामा बग्ने पानीमा नुनिलो स्वाद पाउन थाले । गाउँमा न त घर थियो न त जहान ।” त्यसपछि गाउँ छोडेर कटे अहिले गण्डकी बजारमा सानो टिनको छाप्रोमुनी चिया पसल थापेर बसेका छन् । भन्छन् “जसका लागि म दिनरात खुसी किन्न हिड्थेँ उसैलाई भगवानले खोसेर लेगपछि मैले कस्का लागि गाँउमा बस्नु र सर ?” उनले सोधेको प्रश्नको कुनै जवाफ थिएन मसँग । एउटै प्रश्नले नाजवाफ भएको म कटेले पकाएको एक गिलास तातो चिया पिएर त्यहाँबाट निस्के ।
मल्लेसीमा गएको पहिरोमा परी ७ जनाको ज्यान गएको थियो । जसमध्ये चार जना कटे जेठाराका घरका परिवार रहेका थिए । कटे जेठाराले श्रीमती, दुई छोरी र एक छोरा गरी ४ जनालाई गुमाएका थिए । यो पिडा उनलाई अहिले पनि उत्तिकै पोल्ने गरेको छ ।
एक वर्षसम्म बनेनन् घर
२०७७ साल असार १९ गते जिल्लाको केदारस्यूँ गाँउपमलिका वडा नं. ८ को मल्लेसी गाउँमा पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो भने २२ वडा घर बगाएको थियो । एक्कासी राती २ बजेतिर गाउँभन्दा माथिबाट पहिरो फुटेर गाउँ नै बगाएको थियो । पहिरो आउने कुनै संकेत नै नभए पनि एक्कासी राती पहिरो फुट्यो मल्लेसीबासीले ठूलो क्षती बेहोर्नु परेको थियो । पहिरोले घरखेत बगाएर सुकुम्वासी जस्तै बनेका त्यहाँका स्थानीयले एक वर्ष बित्दा पनि बस्नलाई घरको छानो हाल्न पाएका छैनन् । गाउँमा पहिरो गएर मानसिक र भौतिकरुपमा विछिप्त मल्लेसीबासी अहिले फेरि त्यही पिडा भोग्नु पर्ने त होइन ? भन्ने चिन्तामा छन् ।
केन्द्र सरकार प्रदेश सरकार र स्थानिय सरकारले यो आर्थिक वर्षभित्र पहिरोले बगाएका २२ वटा घर निर्माण गर्ने आश्वासन पाएको भए पनि अहिलेसम्म उनीहरुका घर बन्न सकेका छैनन् । मल्लेसी पहिरो पिडित गोरे जेठारा भन्छन् “जनप्रतिनिधिहरुले अहिलेसम्म हामीलाई बस्ने व्यवस्थापन गर्न सकेका छैनन् । बर्खाको समय सुरु भइसक्यो । कति अरुको घरमा नै बास मागेर बस्नु ।” देशभर कोरोना महामारीको भयावह स्थिती बनेको छ । मजदुरी गरेर खाने वातावरण पनि नभएकाले गाँउपालिकाले तत्कालका लागि राहतको व्यवस्थापन गरिदिन पर्ने स्थानीयहरुको माग रहेको छ ।
यता केदारस्यूँ गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश बोहराले पहिरो पीडितका लागी घर बनाउन पहल भइरहेको बताउनु भएको छ । यो आर्थिक वर्षको असाढभित्रमा नै २२ वटा घर निर्माण गरिदिने भनेर प्रदेशले आश्वासन दिएको र अन्तमा आएर प्रदेशमा बजेट छैन् भन्ने जानकारी गराएकाले यो आर्थिक वर्षमा मल्लेसी पहिरो प्रभावितका घर नबन्ने बताउनु भएको छ । फेरि केन्द्र सरकारलाई पहिरो प्रभावितका घर निर्माणका लागी पहल गरेको र २२ वडा घरका लागि प्राविधिक स्टेमेटसहित फाइल प्रशासन मार्फत बुझाएको वडा अध्यक्ष बोहराले बताउनुभएको छ ।
विभिन्न व्यक्ति र संस्थाले पठाएको रकम खातामा राखिएको र उक्त रकम हिनामिना भएको पिडितको गुसनासो छ ।