काठमाडौँ : के फुटबलमा यस्तो पनि हुन्छ र? हुँदोरहेछ। यसपालिको आहा–रारा गोल्डकप फुटबलको फाइनल खेलेको अफ्रिकन रुट्स एसोसिएसनका खेलाडी बसेको होटल पूरा निगरानीमा थियो।
आयोजक सहारा क्लबलाई डर थियो, कतै यसका खेलाडी भागेर अन्यत्र खेल्न जाने त होइनन्? नभन्दै फाइनलको अघिल्ला रात अफ्रिकन रुट्सका ११ खेलाडी भागेर सर्लाही पुगे। त्यहाँ पुगेर उनीहरूले राजर्षि जनक कपमा खेले। फेरि रातारात पोखरा आइपुगे।
यति बेलासम्ममा न यसबारे आयोजकलाई थाहा थियो, न त होटललाई नै। फाइनलमा अफ्रिकी रुट्सको बेन्चमा रहेका खेलाडी निकै थकित देखिन्थे। हाई काटिरहेका थिए। लागिरहेको थियो, तिनलाई जबरजस्ती त्यहाँ राखिएको थियो। फुटबल एक प्रकारले व्यापार नै हो, तर यसमा कमसल खालका व्यापारीको कुनै स्थान छैन। अफ्रिकन रुट्स टिम पनि यस्तै खराब व्यापारी हो, जसलाई यो खेलका इमानबारे केही पनि मतबल छैन।
यिनीहरूलाई पैसा कमाउनु मात्र छ। यस्तो टिमलाई खेलाउनु पनि खासमा सहाराको भूल हो, तर जहाँसम्म यस्ता टिमको प्रवृत्तिको कुरा छ, यसले नेपाली फुटबललाई घाटाबाहेक अरू केही पनि गर्दैन। यस्तो प्रवृत्ति मौलाएको पनि केही वर्ष भइसकेको छ। यसलाई रोक्न आवश्यक भइसकेको छ। नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को उद्देश्य फुटबल विकास हो भने यस्ता टिम, यसले खेल्ने खेल, यसका व्यवहार सबै बाधक हुन्। यसले राम्रो केही पनि गर्दैन।
सबैभन्दा पहिले यो नै बुझ्नौं न, के अफ्रिकन रुट्स एसोसिएसन भन्ने पनि कुनै टिम छ र? यसको उत्तर आउँछ, छैन। जसरी कुनै समय नेपाली घरेलु फुटबलमा नराम्रोसँग छाएको अफ्रिकन युनाइटेड भन्ने टिम वास्तवमै थिएन, त्यसरी नै यो टिम पनि छैन। अफ्रिकन रुट्सका सबै खेलाडी क्यामरुनी हुन्। क्यामरुनी फुटबल आफैंमा उम्दा छ। तर अफ्रिकन रुट्स यस्तो कुनै औपचारिक टिम नै होइन, खेलाडी राम्रो भनेर कसरी विश्वास गर्ने?
यी त ठिक्कका फुटबल खेल्ने नेपाल आएका खेलाडी मिलाएर बनाइएको टालटुले टिम नै हो। नेपाली फुटबलको विकास गर्ने हो र घरेलु प्रतियोगितालाई आकर्षिक बनाउने हो भने विदेशी टिम पनि चाहिन्छ। तर यी टिम आधिकारिक नै हुनुपर्छ, अफ्रिकन रुट्सजस्तो होइन। फेरि यसपल्टको आहा–रारा खेल्न भनेर नै टिमलाई बोलाइएको हो भने यस्तोमा यो टिमको काम प्रतियोगिता सकेपछि आफ्नै देश फर्कने हो। तर अफ्रिकन रुट्सले अरू प्रतियोगिता पनि खेलिरहेका छन्।
यो टिम आफैं कुनै आधिकारिक नभएको हुनाले यसका खेलाडीलाई कारबाही गर्ने र त्यो लागू हुनेसक्ने स्थिति पनि छैन, कहींकतै कोही चुकेमा। नेपालमा सहिद स्मारक लिग ‘ए’ डिभिजन ०६० सालयता निकै लोकप्रिय हुन थाल्यो, त्यसयता नेपाली घरेलु फुटबलमा अफ्रिकी खेलाडी पनि भित्रिन थाले। सुरुसुरुमा केही राम्रा खेलाडी आए, तर पछि विस्तारै यसमा विकृति अनेक देखिन थाले। तिनै अफ्रिकी खेलाडीले फुटबल छाडेर अन्य गैरकानुनी काम गरेका उदाहरण धेरै छन्।
यहाँनिर एन्फा नराम्रोसँग चुक्दैछ र पूरा घटनाक्रमलाई लिएर चुपचाप छ। उसले बुझ्न आवश्यक छ, अफ्रिकन रुट्स जस्ता टिमले नेपालमा खेलेर यहाँको फुटबलमा साँच्चै केही पनि राम्रो गर्दैन। यस्ता आधिकारिक नभएका टिम र खेलाडीले मैदान बाहिरमात्र होइन, मैदानभित्र पनि अनेक समस्या सिर्जना गरेको पाइन्छ। जस्तो, नेपाली घरेलु फुटबलमा केही शंकास्पद खेल र नतिजामा सबैभन्दा बढी यस्तै कमसल व्यापारी अफ्रिकी खेलाडीको संलग्नता छ।
नेपालका क्लबका केही पदाधिकारीलाई सोध्नुपर्छ, तिनीहरूले यस्ता कथा मज्जाले भन्ने गर्छन्। तर यो कथा यस्तो हो, जुन सार्वजनिक रूपमा दाबी गर्न सकिन्न। सोचौं, यही टिमले यसपल्टको आहा–रारा गोल्डकप जितेको भए? धन्न यस्तो भएन। संकटाले ऐतिहासिक रूपमा उपाधि उचाल्यो। तर कुरा यत्तिकैमा सकिन्न। निश्चित रूपमा संकटाको इमानमा शंका गर्न सकिन्न, गर्नु पनि हुन्न। संकटा त उपाधिका लागि शतप्रतिशत हकदार देखिन्छ।
संकटाले फाइनलसम्मको यात्रामा यस्ता टिमलाई हराएका छन्, जसले यसअघि संकटालाई पोखरामै लगातार हराएको थियो। ती थिए, मनाङ मर्स्याङ्दी र एपीएफ। तर फाइनलको भिडियो सावधानीपूर्वक हेर्नुपर्छ, आँखा पोख्त हुनुपर्छ, अफ्रिकन रुट्सका केही खेलाडीको खेल शंकास्पद छ, तिनले खासखास मोडमा किन बललाई आफ्नो नियन्त्रणबाट फुत्काए, त्यो भन्न गाह्रो छ। हुनसक्छ, यस्तो भएको पनि थिएन। तर प्रश्न उठ्छ नै। किनभने अफ्रिकन रुट्स कुनै आधिकारिक टिम नै होइन।
यसका खेलाडीलाई खाली नेपाल आएर पैसा कमाउनु छ। पैसाका लागि यस्ता खेलाडीले जेसुकै गर्न सक्छन्। पैसा नै तिनलाई सबथोक नहुने भए, के तिनीहरू फाइनलअगाडि भागेर अन्यत्र पनि खेल्न जान्थे र? यहाँनिर के बुझ्यौं भने अफ्रिकी खेलाडी र टिमलाई खेलाउनु नै हुन्न भन्ने होइन, तर प्रश्न तिनै खेलाडी र टिमको आधिकारिकताको हो। फेरि यसपल्टको आहा–रारा गोल्डकप स्तरीयताको आधारमा निकै कमजोर रह्यो, कम्तीमा फाइनल निकै फितलो थियो।
यो भन्दा त कहाँ हो कहाँ सहिद स्मारक लिगको ‘बी’ डिभिजन नै थियो। यसको कारण यस्तै विदेशी टिम हुन्। भन्न त के भनिएको छ भने यो अफ्रिकन रुट्सका केही खेलाडी ठिक्कका छन्। तर यस्तै टिमविरुद्ध हाम्रा राष्ट्रिय खेलाडीले भरिएको टिम पनि हार्छ। के नेपाली टिमको आफ्नो स्तर साह्रै कमजोर नै हो त? यसको उत्तर पछि खोजे पनि हुन्छ। सबैभन्दा पहिले अफ्रिकन रुट्स जस्तो समस्या नै समाधान हुनुपर्छ। अफ्रिकन रुट्सले धोका दिएपछि सहारा गम्भीर भएको देखिन्छ, तर एन्फा अझै गम्भीर हुन सकेको छैन।