काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेका अनुसार ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो । दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । मंगलबार राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो ।
पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकाका देउवाले २ हजार २ सय ५८ (४८ दशमल २५ प्रतिशत), कोइरालाले १ हजार ७ सय २ (३६ दशमलब ३७ प्रतिशत), सिंहले ३ सय ७१ (७ दशमलव ९२ प्रतिशत), निधिले २ सय ५० (५ दशमलव ३४ प्रतिशत) र गुरुङले २२ (शून्य दशमलव ४७ प्रतिशत) मत ल्याएका थिए । ७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ ।
पाँचौं पटक प्रधानमन्त्री चलाइरहेका देउवाको कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरु भएको हो । २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा उनी रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलोपटक कांग्रेसको सभापति बनेका थिए । २०४८ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देउवाले पहिलो पटक २०५७ माघको १० औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
पोखरामा आयोजित उक्त महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई चुनौती दिँदै उनले उम्मेदवारी दिएका थिए । त्यतिबेला कोइरालाले ९ सय ३६ मत ल्याएर जित्दा देउवा ५ सय ७ मतमा सीमित भएका थिए । आन्तरिक कलहका कारण देउवाले २०५९ असारमा पार्टी विभाजन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे ।
२०६४ असोजमा पार्टी एकीकरण गर्दै ४० प्रतिशत हिस्सासहित वरिष्ठ नेताका हैसियतमा उनी कांग्रेसमा फर्किए । त्यसको तीन वर्षपछि भएको १२ औं महाधिवेशनमा उनले पुनः सभापतिमा उम्मेदवारी दिए । तर सुशील कोइरालासँग पराजित भए । उनको राजनीतिक जीवनमा एकीकृत कांग्रेस पार्टीको सभापति हुने अवसर २०७२ मा मात्र जुर्यो । ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा पुगेका उनी रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति भएका थिए । देउवा २०५९ असारदेखि २०६४ असोजसम्म कांग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । उनले पटक–पटक गरेर ९ वर्ष जेलजीवन बिताए । उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ । २०४८ सालयताका ६ वटै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित भएका छन् । २०४८ मा गृहमन्त्री बनेका उनी त्यसको चार वर्षमै २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।
त्यसपछि उनी २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २० मा तेस्रो पटक, २०७४ जेठ २३ मा चौथो पटक र २०७८ असार २९ मा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भए । पटक–पटक प्रधानमन्त्री बने पनि शासकीय क्षेत्रमा उनी निकै विवादास्पद छन् । देउवामाथि विगतमा सत्तामा टिक्नका लागि जम्बो मन्त्रिपरिषद् बनाएको, संसद्मा पजेरो काण्ड भित्र्याएको, संसद् भंग गरेर प्रजातन्त्र राजालाई सुम्पिएको आरोप लाग्ने गरेका छन् । उनले कांग्रेस पार्टी फुटाएको आरोप पनि खेप्दै आएका छन् ।
कांग्रेसमा देउवाले कोइराला परिवारससँग पौंठेजोरी खेल्दै नेतृत्वमा स्थापित हुने नेताको छवि बनाएका छन् । पार्टीका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा तत्कालीन गिरिजाप्रसाद कोइरालासँग चरम द्वन्द्व हुँदा पार्टीबाट अलग हुनेदेखि प्रधानमन्त्रीबाट राजीनामा दिनेसम्मका अप्रिय निर्णय लिएका थिए ।
२०४८ मा गिरिजाप्रसाद कोइरालाका गृहमन्त्री बनेका देउवाले पार्टीभित्र संघर्ष गर्दै कोइरालाविरोधी जनमत निर्माण गरे । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका देउवा यस पटक कोइराला वंशकै शेखर कोइरालालाई पराजित गर्दै सभापति भएका छन् । १३ औं महाधिवेशनमा कोइराला परिवारका कुनै पनि सदस्य सभापतिमा उम्मेदवार थिएनन् । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।