काठमाडौं : मोबाइल फोन सेवा सबैले सहज रूपमा प्रयोग गर्नका लागि ठाउँ ठाउँमा टावर राख्नुपर्ने हुन्छ । जसबाट तपाईँको मोबाइलमा सहजै सिग्नल आउँछ । जहाँ मोबाइल टावर हुँदैन, त्यहाँ सिग्नल प्राप्त गर्न निकै कठिन हुने गर्दछ ।
तर स्याटलाइट फोनमा भने यस्ता कुनै पनि समस्या आउँदैनन् । किन भने स्याटलाइट फोनमा सोझै स्याटलाइटबाटै सिग्नल आउने गर्दछ । जसले गर्दा टावरका कारण सिग्नल जाने कुनै सम्भावना रहँदैन ।
यसको विशेषता नै के हो भने तपाईँ मुलुकको कुनै पनि कुनाबाट यो फोन प्रयोग गर्न सक्नुहुन्छ । यति मात्र होइन, हवाई यात्रा र समुद्री यात्राका क्रममा समेत यस्तो फोन प्रयोग गर्न मिल्छ ।
यदि तपाईँको मनमा यो फोन आफूले पनि प्रयोग गर्न पाए हुन्थ्यो भन्ने चाहना उत्पन्न भएको छ भने नेपालमा त्यो पनि सम्भव छ । हाल नेपालमा स्याटलाइट फोन प्रयोगकर्ताको सङ्ख्या २९८६ रहेको छ ।
स्याटलाइट फोनको सबैभन्दा धेरै माग प्रतिरक्षा, सेना, शसस्त्र प्रहरी बल, विपद पुनःस्थापना, हाइड्रो पावर, ट्रेकिङ जस्ता सेवामा हुने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । केही कर्पोरेट तथा कूटनीतिक व्यक्तिहरूले समेत यस किसिमको फोन प्रयोग गर्दै आएका छन् ।
यसको मूल्यको कुरा गर्ने हो भने स्याटलाइट फोनको प्रयोग गर्दा लाग्ने खर्च आम स्मार्टफोनमा हुने खर्चभन्दा निकै धेरै हुने गर्दछ । स्याटलाइट फोनमा यदि तपाईँले घण्टौँसम्म कुरा गर्नु पर्यो भने त्यसका लागि लाखौँ रुपैयाँ चुकाउनु पर्ने हुन सक्छ ।
नेपालमा कन्स्टलेसन प्रालि र आईफोर टेक्नोलोजिज गरी दुई कम्पनीले स्याटलाइट फोन तथा त्यसमा लाग्ने सिम कार्ड बिक्रीको अनुमति पाएका छन् । यस्तो फोन निकै महँगो हुने भएकाले निश्चित समयका लागि लिजमा लिएर समेत चलाउन सकिने विकल्प रहेको छ ।
यसका साथै सिम र फोन सेट समेत खरिद गरेर राख्न पाइन्छ । यसमा लाग्ने ट्यारिफ नियामक प्राधिकरणले नै स्वीकृत गर्दै आएको छ । जुन अमेरिकी डलरमा हुने गर्दछ ।
थुरायाबाट थुरायामा कल गर्दा प्रति मिनेट १ डलर लाग्छ भने थुरायाबाट (नोभा जोनदेखि) सबै ब्यान्डमा कल गर्दा प्रति मिनेट १७.४० अमेरिकी डलर शुल्क लाग्ने गरेको छ । यसका साथै नोभा जोनभन्दा बाहिरबाट थुरायादेखि थुरायामा कल गर्दा १.९५ डलर प्रतिमिनेट देखि सबै ब्यान्डका लागि प्रति मिनेट २०.८८ अमेरिकी डलर सम्मको शुल्क तिर्नुपर्ने हुन्छ ।
यस बाहेक सिम कार्ड एक्टिभेसनका लागि १०० अमेरिकी डलर, मासिक रेन्टल ७० डलर, सिम कार्ड रिएक्टिभेसनका लागि ३०८ अमेरिकी डलर र सिम साटफेरका लागि १२० डलर मूल्य तोकिएको छ ।