बझाङ: कैलालीसहित तराईका चार जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुनसकेका छैनन् । मुक्त भएको २२ वर्ष पुग्दासमेत कैलाली, कञ्चनपुर, बर्दिया र दाङका मुक्त कमैया पुनःस्थापनाको पर्खाइमा रहेका छन् ।
मुक्त कमैया समाजका अनुसार कैलालीमा नौ सय ५३, कञ्चनपुरमा एक सय २९, बर्दियामा एक हजार दुई सय ४५ र दाङमा ४८ गरी जम्मा दुई हजार तीन सय ७५ मुक्त कमैयाको पुनःस्थापना गर्न बाँकी रहेको छ । समाजका अनुसार पाँच जिल्लामा कूल २७ हजार पाँच सय ७१ परिवार मुक्त कमैया रहेका थिए । जसमध्ये २५ हजार एक सय ९५ परिवारले जग्गा पाइसकेका छन् ।
जमिन्दारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएकाहरूलाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । तर शुद्ध रूपमा जग्गा नपाएको तीन ८०, सट्टा भर्ना गर्नु पर्ने चार सय र २०५८ सालमा परिचयपत्र पाएर पनि बदर भएको एक सय ७३ परिवार गरी नौ सय ५३ जनाको अझै पुनःस्थापना गर्न बाँकी नै रहेको तथ्याङ्क छ ।
कञ्चनपुरमा जग्गा पाउनु पर्ने चार हजार चार सय १८ परिवार मुक्त कमैया रहेकोमा चार हजार दुई सय ८९ ले जग्गा पाइसकेका छन् । यस्तै, बर्दियामा ११ हजार पाँच सय ५१ मध्ये १० हजार तीन सय छ परिवारले जग्गा पाइसकेका छन् । बाँकेमा एक हजार नौ सय २१ मुक्त कमैया रहेकोमा सबैको पुनःस्थापना भएको छ । यसैगरी, दाङमा सात सय पाँच मध्ये छ सय ५७ परिवारले जग्गा पाइसकेका छन् ।
कैलालीमा जग्गा पाउनु पर्ने जम्मा मुक्त कमैयाको संख्या आठ हजार नौ सय ७५ रहेको छ । जसमध्ये आठ हजार २२ परिवारलाई जग्गा दिइएको छ । सहरी क्षेत्रमा बसोबास गरिरहेका मुक्त कमैयाले धेरैजसो काम पाए पनि विकट क्षेत्रमा बसोबास गरेका मुक्त कमैयालाई गुजारा गर्न समस्या रहेको जनाइएको छ । आर्थिक आम्दानी नरहेका कारण परीक्षा आएको बेला शुल्क तिर्न नसक्दा मुक्त कमैयाका बालबालिकाले विद्यालय छोड्ने दर बढ्दो रहेको मुक्त कमैया समाजले जनाएको छ ।
कैलालीमा पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैयाहरू धनगढी उपमहानगरपालिकाको मिलनपुर, वसन्त टोल, राधाकृष्ण बस्ती, लम्कीचुहा नगरपालिकाको एकतानगरमा बसोबास गरिरहेका छन् । यसैगरी, टीकापुर नगरपालिकाको शिवनगर, कैलारी गाउँपालिकाको मिलनपुर÷विपतपुर, सपना, ओमनगर र गौरीगङ्गा नगरपालिकाको कमैया कम्लहरी बस्तीमा बसोबास गरिरहेका छन् । पुनःस्थापना नभएका मुक्त कमैयाहरू सरकारी, वनक्षेत्रको जग्गामा बसेका जनाइएको छ ।
त्यस्तै सट्टा भर्ना गर्नु पर्ने मुक्त कमैया परिवार भने नदी÷खोलानालाको किनारमा बस्दै आएका छन् । सट्टा भर्ना र परिचयपत्र बदर भएका मुक्त कमैयालाई नसमेटेका कारण उनीहरूलाई पुनःस्थापना गर्नु पर्ने मुक्त कमैयाको सरकारी तथ्याङ्क भने कम रहेको छ । पुनःस्थापना नहुँदा मुक्त कमैयाले विभिन्न समस्या झेल्दै आएका छन् ।