काठमाडौं : गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै ‘अन्तर्राष्ट्रिय सहकार्यमा विश्वको लागि उदाहरण’ भएको बताएका थिए । गत जनवरीदेखि भारतले अन्य मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वितरण सुरु गरेको थियो ।
हर्षवर्धनको आशा मुलुकमा घट्दो क्रममा रहेको दैनिक नयाँ संक्रमितको संख्याले जगाएको थियो । सेप्टेम्बरको मध्यमा दैनिक ९३ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका भारतमा यो संख्या फेब्रुअरीको मध्यमा आइपुग्दा यो संख्या औसतमा ११ हजारमा झरेको थियो । एक सातामा औसतमा दैनिकरुपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक सयभन्दा कम थियो ।
गत वर्षको अन्तिमबाट भारतमा कोरोना नियन्त्रणको उत्साह बढेको थियो । राजनीतिकर्मी, स्वास्थ्य अधिकारी र सञ्चारमाध्यमले पनि भारत अब कोरोनाको जोखिमबाट मुक्त रहेको बताइरहेका थिए । डिसेम्बरमा भारतको केन्द्रीय बैंकका अधिकारीले पनि भारतमा कोरोना संक्रमण निरन्तर घट्दै गएको बताएका थिए । प्रधानमन्त्री मोदीलाई भारतमा ‘खोप गुरु’ को नामले चिन्न थालिएको थियो ।
एक प्रतिवेदनले अहिलेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो सातामा भारतमा कोरोनाबाट दैनिक २३ सयको मृत्यु हुनसक्ने देखाएको छ
फेब्रुअरीको अन्तिममा भारतको निर्वाचन आयोगले पाँच राज्यमा निर्वाचनको घोषणा गर्यो । निर्वाचन घोषणा गरेका पाँच राज्यको जनसंख्या १८ करोड ६० लाख छ । ८२४ सिटका लागि घोषणा गरिएको निर्वाचन मार्च २७ मा सुरु भएको थियो । यो निर्वाचन एक महिनासम्म चल्नेछ । पश्चिम बंगालमा यो निर्वाचन आठ चरणमा गर्ने घोषणा गरिएको थियो ।
भारतका विभिन्न पार्टीहरुले निर्वाचनको प्रचार सुरु गर्न थाले । तर, निर्वाचन प्रचारमा न भौतिक दूरीको नियम पालना भयो न त अरु जनस्वास्थ्यका नियम पालना गरियो ।
मार्चको मध्यमा क्रिकेट बोर्डले भारत र इंगल्याण्डबीचको खेलमा एक लाख ३० हजार समर्थकलाई खेल हेर्ने अनुमति दियो । यो खेल भारतको गुजरातमा भएको थियो । जहाँ खेल हेर्ने अधिकांश समर्थकले मास्क लगाएका थिएनन् ।
त्यसको एक महिनाभन्दा कम समयमा भारतमा कोरोना संक्रमण निकै तीव्र गतिमा बढ्न थाल्यो । जतिबेला भारतमा कोरोनाको दोस्रो लहर फैलिइसकेको थियो । केही सहरमा कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको घोषणा भइरहेको थियो । अप्रिलको मध्यसम्ममा भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या एक लाख नाघिसकेको थियो ।
आइतबार मात्र भारतमा २ लाख ७० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने १६ सयभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो । ल्यान्सेट कोभिड कमिसनको एक प्रतिवेदनले अहिलेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो सातामा भारतमा कोरोनाबाट दैनिक २३ सयको मृत्यु हुनसक्ने देखाएको छ ।
भारत अहिले सार्वजनिक स्वास्थ्य आपतकालको सामना गरिरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि, अस्पतालबाहिर मृतकका आफन्तको रुवाबासी, अस्पतालमा पालो नपाएर देखिने एम्बुलेन्सको लामो जाम, मृतकको संख्या धेरै भएकाले घाटमा देखिएको समस्या र अस्पतालमा बेड पर्याप्त नहुँदा एउटै बेडमा दुईजनाको उपचार भइरहेको दृश्य सेयर गरेका छन् ।
भारतका अस्पतालहरुमा बेड, औषधि, अक्सिजन र पर्याप्त अक्सिजनको अभाव देखिन थालेको छ । औषधिको कालोबजारी भइरहेको छ भने कोरोना परीक्षणको नतिजा आउन केही दिन पर्खिनुपर्ने भएको छ । ‘उनीहरुले मलाई मेरो बच्चा मरेको तीन घण्टासम्म पनि खबर गरेनन्’, अस्पतालको आईसीयूबाहिर बसेकी एक महिलाले भनिन् । आईसीयूबाहिर रहेका अर्का एक व्यक्ति मानिसहरुलाई सम्झाउँदै थिए ।
अहिले भारतमा कोरोना खोप अभियान सञ्चालन भइरहेको छ तर यो अभियान निकै सुस्त गतिमा चलेको भन्दै भारत सरकारको आलोचना पनि भइरहेको छ । खोप कार्यक्रम सुरु गर्दा पनि कोरोना संक्रमण नियन्त्रणमा घरेलु खोपको प्रभावकारिताबारे मानिसहरुले आशंका व्यक्त गरेका थिए । गत साता भारतले १० करोड डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको बताएको थियो ।
तर, अहिले भारतमा कोरोना खोपको अभाव देखिएको छ । विश्वको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आगामी जुन महिनासम्म खोप आपूर्ति बढाउन नसक्ने बताइसकेको छ । भारतले अहिले अन्य मुलुकमा निर्यात गर्नुपर्ने खोपको निर्यातमा पनि रोक लगाएको छ । कोरोना संक्रमण बढेसँगै भारतले विदेशी कोरोना खोपको आयात पनि सहज बनाएको छ । यहाँसम्मकी संक्रमण बढ्दो क्रममा रहेकाले भारत अक्सिजन पनि आयात गर्नुपर्ने अवस्थामा छ ।
अहिले भारतमा विश्वको सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता बन्द स्टेडियमभित्र भइरहेको छ । तर, हजारौं मानिसहरु आफ्नो नेतासहित निर्वाचन र्यालीमा गइरहेका छन् भने लाखौंको संख्यामा मानिसहरु कुम्भ मेलामा सहभागी भएका छन् । यो कोरोना संक्रमण तीव्र गतिमा बढ्नुको मुख्य कारण रहेको समाजशास्त्रका प्राध्यापक शिव विश्वनाथन बताउँछन् ।
विशेषज्ञहरु अब भारत कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसकेको बताउँछन् । मानिसहरुले युवामा दुर्लभ मानिने, आन्तरिक प्रतिरोधी क्षमता बलियो रहेको, ठूलो जनसंख्या गाउँमा बस्ने गरेकोजस्ता कारण देखाउँदै कोरोनामाथि जित भएको दाबी गर्न थाले र आवश्यक सतर्कता अपनाएनन् । ब्लूमवर्गमा आलेख लेख्दै आएका मिहिर शर्माका अनुसार अधिकारीहरुको अहमता, अति राष्ट्रवाद, लोकप्रियता र प्रशासनिक कमजोरीको कारण अहिलेको संकट आएको हो ।
त्यसका साथै विवाह तथा ठूला सामाजिक उत्सवमा पनि ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । सरकारले पनि राजनीतिक र्याली गर्ने र धार्मिक भेलालाई अनुमति दिनेजस्ता कदम चालेकाले पनि मानिसहरुमा मिश्रित सन्देश गएको विशेषज्ञहरुको भनाइ छ ।
दोस्रो लहरलाई रोक्न नसकिए पनि यसलाई पछि भने सार्न नसकिने गौतम मेनोन बताउँछन् । अन्य मुलुकले जस्तै मुलुकमा सबैभन्दा पहिला कोरोनाको नयाँ भेरियन्ट देखिँदा नै आवश्यक सतर्कता अपनाउनुपर्नेमा भारत त्यसमा पछि परेको मेनोनको भनाइ छ ।
– बीबीसीबाट