बझाङ : भारतबाट मंगलबार घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो। आइतबार मात्रै जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिकाका एक र जयपृथ्वी नगरपालिकाका एक जनालाई परीक्षण गर्दा संक्रमण पत्ता लागेको थियो। जिल्ला अस्पतालका अनुसार उनीहरूमा लक्षण देखिएपछि मात्रै परीक्षण गरिएको हो।
जिल्ला अस्पतालमै कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोनाका लक्षणहरू देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भयो। उनले कोभिडविरुद्धको भ्याक्सिन (कोभिसिल्ड) को पहिलो मात्रा लगाइसकेकी थिइन्। कोभिड भ्याक्सिन लगाउनुपूर्व पनि संक्रमित भइसकेकी ती स्वास्थ्यकर्मीमा अहिले पहिलाभन्दा कडा खालका लक्षणहरू देखिएका छन्।
दुई हप्ताको अवधिमा लक्षण देखिएका ५९ जनाको परीक्षण गर्दा बझाङका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय बझाङमा कडा खालको लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमितको संख्या बढेको भए पनि न्यून संख्यामा मात्रै परीक्षण भैरहेको छ। भीडभाड नियन्त्रण, सुरक्षा सतर्कता र उपचारका लागि पूर्वाधारको तयारीमा भने कसैको ध्यान गएको देखिँदैन।
भेन्टिलेटर र प्रयोगशाला बन्द
जिल्लामा संक्रमितको संख्या बढ्दै गएको बेला बझाङका पालिकाहरूको पहलमा स्थापित पीसीआर प्रयोगशाला डेढ महिनायता बन्द छ। जनशक्ति अभावका कारण प्रयोगशाला बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ। प्रयोगशाला सञ्चालन गर्नका लागि आवश्यक जनशक्तिलाई प्रदेश सरकारका तर्फबाट तलबसुविधा दिने प्रतिबद्धता आएको भए पनि रकम नआएपछि प्रयोगशाला बन्द गरिएको बझाङ अस्पतालका निमित्त प्रमुख डा. खड्काले बताए।
सुरक्षा मापदण्डको उल्लंघन
जिल्लाका विभिन्न ठाउँमा सयौंको भीड उपस्थित हुने खालका मेलाहरू दैनिकजसो सञ्चालन भइरहेका छन्। भीडभाड हुने ठाउँमा मास्कको समेत प्रयोग गर्ने गरिएको छैन। ‘पहिलेभन्दा अवस्था भयावह हुँदै छ। स्थानीय तह र समुदायले भने यसको बेवास्ता गरिरहेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले भने, ‘यस्तै खालको बेवास्ता कायमै रह्यो भने सबैले पछुताउनुपर्ने निश्चित छ।’
यता जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने आफूहरू कोरोना नियन्त्रणका लागि बझाङका सबै पालिकाका प्रमुखहरूसँग समन्वय गरिरहेको बताए।