बझाङ सदरमुकाम वरिपरि दुई ठूला सदाबहार नदी खोला छन्, ती हुन् सेती नदी र बाहुली खोला । तर यही सदरमुकाम बारम्बार एउटै समस्याले सताइरहन्छ त्यो हो खानेपानी र विद्युत । यी नदी तथा खोला सदाबहादुर बगिरहे पनि यीनको उपयोग गर्नमा कसैलाई खासै चाँसो छैन तर सदरमुकाम जस्तो ठाउँमा खानेपानी र विद्युतको समस्या निरन्तर भइरहन्छ । पाँच वर्ष अगाडी एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकारबाट साना शहरी खानेपानी योजना अन्तरगत सदरमुकाम चैनपुरमा खानेपानी योजना निर्माण भयोे । यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर २०७७ मा आशिस सीएबी जेवी निर्माण सेवाले काम सम्पन्न गर्यो ।
जयपृथ्वी नगरपालिकाले समेत २ करोडको साझेदारी गरेको चैनपुर शाना शहरी खानेपानीमा कूल २१ करोड ७३ लाखको लागतमा निर्माण सम्पन्न भएको यो योजनाको भोपुरस्थित सिमभाडीमा सात लाख क्षमताका चारवटा पानी रिजर्व ट्याङ्कीसहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधार बनेका छन् । तर विद्युत नहुँदा पानी नआउने समस्याले खानेपानी उपभोक्ताले बारम्बार हैरानी खेप्नुपरिरहेको छ ।
सेती नदीको पानी लिफटिङ गरेर खानेपानीमा उपयोग गरिएको बझाङमा यो पहिलो योजना हो । योजना सम्पन्न भएपछि सदरमुकामवासी खानेपानीको समस्याबाट मुक्त हुने आशा राखेका थिए तर बझाङको सबैभन्दा सुगम मानिएको चैनपुरमा समेत आधारभुत विकास पुर्वधारले समेत यसरी दुःख दिदा यहाँका सेवाग्राही हैरान भएका छन् । शुक्रबारदेखि विद्युत र खानेपानी अनियमित हुँदा यहाँका होटेल व्यवसायी विभिन्न उद्योगी सञ्चार माध्यम र चैनपुरबासी सेवाग्राहीलाई सास्ती भएको हो ।
पछिल्लो समय चैनपुर शाना शहरी खानेपानीमा निर्भर रहेका सदरमुकाम चैनपुर र आसपासका बासिन्दा एउटा जेनेरेटेरको व्यवस्थासम्म नगरेको भन्दै चैनपुर शाना शहरी खानेपानी उपभोक्ता समितिप्रति उपभोक्ता आक्रोसित बनेका छन् । पछिल्लो समय एक समयमा मात्रै पानी वितरण हुँदै आएको र दुई दिनदेखि धारामा खानेपानी नआउँदा यहाँका होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् केहीले निजि धारामा गएर पानी भरिरहेका छन्। धारामा पानी नआउँदा सास्ती भएको मष्टा घर भइ हाल चैनपुरमा होटल व्यवसाय गर्दै आउनुभएका माधव जोशीले बताउनुभयो । उहाँका अनुसार होटलमा खाना, नास्ता पकाउन र आएका ग्राहकलाई हातमुख धुन, चर्पीमा प्रयोग गर्नका लागि पानी नहुँदा होटेल नै बन्द गर्नु परेको छ । धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकाहरु र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ ।
यस खानेपानीका लागि तत्काल विद्युतको बैकल्पिक समाधान हुनुपर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर -६ का निवर्तमान वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,’सदरमुकाम जस्तो ठाउँमा लगातार दुईतीन दिनसम्म पानी नआउनु चरम लापरबाही हो । यसरी नै पानी नआए यहाँ बस्ने उद्योगी व्यवसायी डेरावाला तथा विद्यार्थीले त पानी नपाएर सदरमुकाम छोड्नुपर्ने अवस्था आउँछ । पानी आएकै दिन पनि छतमा पानी चढ्दैन । पाइपलाइन बिग्रदा समयमा मर्मत हुँदैन । यस युगमा पानी र बिजुलीका लागि हामीले गुहारी राख्नु कत्तिको लाजमर्दो कुरा हो ।’
यस्तै अदालत अगाडी होटेल व्यवसाय गर्दै आउनुभएका जयबहादुर सिंले पनि होटेल बन्द गरेर घर हिड्नुपर्ने अवस्था आएको बताउनुभयो । चैनपुर शाना शहरी खानेपानीको चरम लापरबाही आफ्नो पेशा व्यवसाय धराप परेको उहाँले गुनासो गर्नुभयो । सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी समेत हुन थालेका छन् । आफू दुईदिनदेखि पानी आउँछ कि भनेर धारामा कुरेको तर पानी नआएपछि मिनरल वाटर प्रयोग गर्नुपरेको जयपृथ्वी नगरपालिका वडा नम्बर-२ घर भइ हाल पढाइको सिलशिलामा चैनपुरमा बस्दै आएकी जुनु महतले बताउनुभयो ।
सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको गएको जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ का वडा सचिव अजयबहादुर सिंहले बताउनुभयो । यता चैनपुर शाना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले भने भोपुर जाने सडक मुनी बारम्बार पहिरो जाँदा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण गर्न नपाएको बताउनुभयो ।
चैनपुर शाना शहरी खानेपानी उपभोक्ता समितिले पाइपलाइन मर्मतका लागि पलम्बर र विद्युत नहुँदा बैकपल्पिक व्यवस्था नगरेसम्म खानेपानी वितरणमा समस्या आइरहने देखिन्छ । पछिल्लो चैनपुर शाना शहरी खानेपानीले वितरण गर्ने पानीमा यहाँका बासिन्दा पूणर् निर्भर बन्दा समस्या चुलिदै गएको छ । खानका लागि मात्रै नभएर छतका पानी ट्यांकीमा पनि चैनपुर शाना शहरीकै खानेपानी राख्ने गरेका छन् भने लुगाधुन, सरसफाइ गर्न र करेसाबारीमा यही पानी प्रयोग हुँदै आएको छ ।