सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। विद्यार्थी छँदादेखि राजनीतिक यात्रा थालेका रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो। मुख्यमन्त्री रावलले आधारभूत तहकोे शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गरे। बुवा दानबहादुर भारतीय सेनामा जागिरे थिए।
बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरे। उनी नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा पोख्त छन्। विसं २०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको थालनी भएको हो।
मुख्यमन्त्री रावलले बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापन गरेका थिए। विसं २०४२ मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउ गरेका थिए। विसं २०४५ मा माक्र्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उनले काम गरे। विसं २०४६ को जनआन्दोलनमा रावल प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले)को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।
विसं २०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज बने। विसं २०५१ मा नेकपा (एमाले)को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा ९एमाले० को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल)का रुपमा काम गरेको अनुभव मुख्यमन्त्री रावलसित छ।
विसं २०६२-२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो। उनी २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गरेका थिए। उनी हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सह–इञ्चार्जका रुपमा छन्।
मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। रावल एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीमा चयन भएका छन्। उनी राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्छन्। उनले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेखेका छन्। रावलका कविता संग्रह पनि प्रकाशित छन्। यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन्। उनले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गरेका थिए।
मुख्यमन्त्री रावल सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य, महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समितिको सदस्यका रुपमा समेत काम गरिसकेका छन्। उनी महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षसमेत हुन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री रावलले आफूमा महत्वपूर्ण जिम्मेवारी थपिएको अनुभूति भएको बताएका छन्। उनले भने, “शिक्षाको गुणस्तर, कृषि, पर्यटन, सामाजिक पूर्वाधारको विकास, जैविक विविधताको संरक्षण र रोजगारी सिर्जनामा प्राथमिकता दिन्छु।” रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा (माओवादी केन्द्र) का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ सदस्यको समर्थन रहेको छ। त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ।
प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउनसक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेस गर्न एक हप्ताको समय दिएका थिए। केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो।
प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रमा भएको थियो। सोही सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदमै नेपाली काँग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका छन्। आजै सभामुख पदको उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यतालिका थियो।