कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो।
जग्गा प्राप्तिको मौखिम सहमति भएपछि निमार्णको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताएका छन्। उनले जग्गा भोगाधिकारका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए। अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ। रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच २५ मिटर पुग्छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जङ्गबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निमार्णको काम समयमा सक्नुपर्ने बताए। कञ्चनपुरको महाकाली नदीमा पक्की पुल र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको उनले बताए। वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए।
मंसिरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलले निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको छ। उक्त सहमतिपछि निर्माण कम्पनी कान्छाराम÷केएस÷उमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो।
यसअघि पनि स्थानीय र जनप्रतिनिधिले निर्माण पुनः सुरु गर्न पटकपटक मौखिक सहमति जनाइसकेका छन्। भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो।
तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा सम्झौता गरिएको छ। पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी ‘वे’ र एप्रोनलगायतको काम हुनेछ। दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ। २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। – रासस