बझाङका आठ क्याम्पसमध्ये अब सुप विश्वविद्यालय अन्तर्गतको जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न हुन बाँकी छ ।
अहिलेसम्मको ७ क्याम्पसको नतिजा अनुसार नेकपा एमाले निकट नेकपा एमालेनिकट अनेरास्ववियु तीन क्याम्पसमा, कांग्रेसनिकट नेविसंघ दुई क्याम्पसमा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अनेरास्ववियु एक क्याम्पसमा र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) ठाउँमा बिजयी भएका छन् ।
सभापतिमा सेती क्याप्पस बगडगाउँबाट लक्ष्मण गिरी, सुनकुडा नमुना क्याम्पस सुनकुडाबाट दिलीप अधिकारी र थलारा क्याम्पस थलाराबाट महेश जेठारा निर्वाचित भएका छन् । तीनै क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले जित हासिल गरेको हो ।
त्यस्तै खापरदेव क्याम्पस, खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको प्यानल र त्रिवेणी आदर्श क्याम्पस बुङगलमा करिना भण्डारीले जित हात पारेका छन् ।
बझाङ दीप क्याम्पस झोतामा भने चन्दनिकट अनेरास्ववियु क्रान्तिकारीका कमल थापा स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यस क्याम्पसका अन्य पदाधिकारी तथा सदस्य पदमा अनेरास्ववियुको प्यानलले जितेको छ ।
यस्तै शान्दी आदर्श क्याम्पस छबिसपाथिभेरामा भने सभापति नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) का सागर पण्डितलाई सहमतिमा दिइएको छ भने सचिव नेकपा एमालेनिकट अनेरास्ववियुले राखेको छ । बाँकी पदमा नेविसंघ र अखिल क्रान्तिकारीले भागवण्डा मिलाएका छन् ।
खापरदेव क्याम्पस खप्तडछान्नामा अघिल्लो कार्यकालदेखि महिला नेतृत्व
क्याम्पसका सबै छात्रा एकै ठाउँमा उभिदा खापरदेव क्याम्पस खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको नेपाल विसंघको जित भएको छ । खापरदेव क्याम्पसमा अध्ययनरत ७७ जना विद्यार्थीमध्ये १८ जना छात्र र ५९ जना छात्रा रहेका छन् ।
यस क्याम्पसमा लामो समय स्ववियु सभापति पुरुष चुनिदै आएको भए पनि यसपटक प्राय: सबै छात्राहरु चुनिएका छन् । महिलालाई नेतृत्व दिन नचाहने संगठन र समाजका बेगर नेविसंघको तर्फबाट स्ववीयु चुनावमा होमिएका सबै छात्राहरु आफ्ना समकक्षीहरुले साथ दिदा जित हात पार्न सफल भएको बताउँछन् ।
संगठनले पनि आफु नेतृत्वलाई सुरुमा नस्वीकार गरेको र पछि छात्राहरुको जोडबलले छोड्न बाध्य भएको नव निर्वाचित सभापति शर्मिला खत्रीले बताइन् ।
क्याम्पसका सबै छात्राहरुले पटक पटक पुरुषलाई नेतृत्व जिताए पनि कुनै परिवर्तन नआएको र यसपटक जुनसुकै संगठनको भए पनि महिलालाई जिताउनुपर्छ भनेर लागि परेको क्याम्पसका विद्यार्थी बबिता कार्कीले बताइन् । क्याम्पस सबै संगठनहरु जोडतोडले लागे पनि छात्रा विद्यार्थीकै सहयोगमा नेतृत्व लिन सफल भएको सभापति शर्मिला खत्रीले बताइन् ।
सभापति खत्रीले भनिन्,'म र मेरो नेतृत्वले जित हात पार्नुमा सबैको भूमिका महत्वपूर्ण छ । विगतमा पुरुषहरु मात्रै नेतृत्वमा पुग्थे । यसपटक मैले सबै छात्रा विद्यार्थीलाई सम्झाएँ । उहाँहरु सहमत हुनुभयो । मलाई नलड हार्छौ भन्नेहरु पनि थिए तर म लडिरहेँ । यसपटक पनि मलाई नेतृत्व छोड भनेर दबाब नआएको होइन तर साथीहरुको उत्साह र मेरो अठोटले सफल भएँ । यस क्याम्पसका सबै छात्रा, सबै विद्यार्थी संगठन मिलेर म नेतृत्वलाई भोट दिए र मेरो टिमले जित्यो । अब काम गर्न पनि सहज हुन्छ किनभने हामी प्राय: छात्रा नै छौं । '
उनले सबै छात्राहरु जुन संगठनमा आवद्ध भए पनि यसपटक आफू नेतृत्वको टिमलाई जिताउन लागेको भन्दै खुशी व्यक्त गरिन् । साथै सभापति खत्रीले आफू र आफ्नो टिमलाई नेतृत्व सुम्पिनेप्रति धन्यवाद ज्ञापन गर्दै समग्र क्याम्पस र विद्यार्थीको हकहितमा लडिरहने बताइन् ।
खापरदेव क्याम्पसमा हिजो सम्पन्न स्ववियु चुनावमा ६ जना प्रत्यक्ष र ३ जना समानुपातिक नेविसंघका र बाँकी २ जना एमाले निकट अनेरास्ववियुका गरि ११ जना निर्वाचित भएका छन् । निर्वाचित १० जना छात्राहरु र एक जना छात्र रहेका छन् ।