बझाङ : बझाङमा पनि कोरोना संक्रमितको संख्या र जिल्ला बाहिरबाट आउनेको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाइने भएको छ । कोरोनाको दोस्रो लहर भयावह भएको ठहर गर्दै आज डिसिसिएमसीको बैठक बस्न लागेको हो ।
बैठकले तोकीएका परिक्षा रद्द गर्ने, शिक्षण संस्था बैशाख मसान्तसम्म बन्द गर्ने, बन्द रहेका पिसिआर मेसिन र भेन्टिलेटर सञ्चालन ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्ने, नागरिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सदरमुकाम चैनपुरमा मास्क नलगाएर आउनेलाई प्रवेश नदिने, भिडभाड नहुने गरि विवाह, कार्यक्रम सञ्चालन गर्न लगाउने र स्थानीय तहलाई क्वारेन्टिन,आइसोलेसन बनाउन निर्देश गर्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले द जेपी डेलीलाई जानकारी दिनुभयो ।
यसअघि बझाङका धेरैजसो स्थानीय तहले कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा मिति तोकिसकेका थिए । जिल्लाका १२ वटा स्थानीय तहमध्ये जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, बित्थडचिर गाउँपालिका, बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका र खप्तडछान्ना गाउँपालिका बढी जोखिममा छन् । यस्तै सुर्मा, मष्टा र तल्कोट मध्यम जोखिममा रहेका छन् । साइपाल गाउँपालिकालाई तत्काल जोखिममा राखिएको छैन ।
बझाङमा दाेस्रो लहर सुरु भए यता ४० बढी सक्रिय संक्रमित रहेका छन् भने एक जनाले ज्यान गुमाइसकेका छन् । अहिले ७ जना जिल्ला अस्पतालको आइसोलेसनमा गम्भीर प्रकृतिका संक्रमित उपचार गराइरहेका छन् । पिसिआर मेसिन सञ्चालनमा नआउँदा संक्रमित पहिचानमा पछि परेको जिल्ला अस्पतालका कोरोना संम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । आजको बैठकपछि स्थानीय तहको सहकार्य पिसिआर मेसिन, भेन्टिलेटर सञ्चालनमा ल्याइनेछ ।