बझाङ : चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४ महिनाको बच्चा देखियो ।
स्वास्थ्यकर्मीले तपाइको श्रीमान कता छन् भन्दा उनले विवाह नगरेको बताइन् । तर, पछि स्वास्थ्यकर्मीले पेटमा बच्चा छ भनेर जानकारी दिँदा ती किशोरी अलमलमा परिन् । लामो समयसम्म त यहाँका स्वास्थ्यकर्मीसँग हुनै सक्दैन भनेर जिद्धी गर्न थालिन् । जब भिडियो एक्सरे गरेर नै देखाइयो, त्यसपछि पेटमा बच्चा रहेको स्विकारिन् र छिमेकी गाउँको केटासँग नै असुरक्षित यौन सम्पर्क भएका कारण गर्भ रहेको बताइन् ।
यस्तै चैत्र महिनाको पहिलो सातामा १६ वर्षीया एक किशोरी पेट दुख्यो र ग्यासिट्रिक भयो भन्दै जिल्लाको एक निजी मेडिकलमा पुगिन् । उनले मेडिकलबाट पेट फुलेको र आफूलाई ग्यास्ट्रिक भएको भनेपछि मेडिकल सञ्चालकले ग्यास्ट्रिककै औषधि दिएर पठाए र मेडिकल सञ्चालकले जिल्ला अस्पतालमा जान भनेपछि ती किशोरी जिल्ला अस्पतालमा पुगिन् ।
जिल्ला अस्पतालमा पनि आफूलाई ग्यास्ट्रिक नै भएको स्वास्थ्यकर्मीसँग दाबी गरिन् । स्वस्थ्यकर्मीले उनकै अघि भिडियो एक्सरे गरेर पेटमा बच्चा खेल्न लागेको देखाइदिएपछि उनी अलमलमा परिन् र गर्भमा रहेको ७ महिनाको बच्चा फालिदिन डाक्टरसँग अनुनय विनय गरिन् । तर, डाक्टरले उनलाई सम्झाँदै घर पठाए र ती किशोरीले आफूले असुरक्षित रूपमा यौन सम्पर्क गरेकै कारण गर्भ बसेको स्वीकार गर्दै सोही केटासँग विवाह गर्ने बताउँदै घर फर्किन् ।
स्रोतका अनुसार चैत्र महिनाको अन्तिमतिर १८ वर्षीया एक अविवाहित किशोरी जिल्ला अस्पतालको एमरजेन्सीमा पुगिन् । किशोरीमा रत्तश्राव भइरहेको थियो । चेकजाँच गर्दा निजी मेडिकलबाट गर्भपतन गराउने ‘ट्याब्लेट मिसोप्रोस्टल’ नामक औषधि खाएर पेटमा रहेको ४ महिनाको बच्चा खेर फालेको पत्ता लाग्यो । किशोरीले इन कम्प्लेटेड एभर्सन गराएकै कारण रत्तस्राव भएको थियो । स्वास्थ्य कार्यालयमा पुगेपछि स्वास्थ्यकर्मीले मेसिन बाट सफा गरी उनको ज्यान बचाए ।
यी त सामान्य उदाहरण मात्रै हुन् । यस्ता केस स्रोतका अनुसार दैनिक रूपमा ५-६ वटा आइरहेका हुन्छन् । उसो त त्योभन्दा डर लाग्दो रूप इनकम्प्लेटेड एभर्सन (समय नपुग्दै गर्भपतन गराउने दर) गराउने दर निकै डर लाग्दो छ । दैनिक रूपमा अविवाहित वा विवाहित गरेर ५-६ केस जिल्ला अस्पतालमा मात्रै पुग्ने गरेका यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । सुरक्षित यौन सम्पर्कबारे राम्रोसँग ज्ञान नहुनु, निजी मेडिकलमा सहज रूपमा गर्भपतन गराउने औषधि पाइनुलगायत विभिन्न कारणले यो दर बढेको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।
यता जिल्ला अस्पतालमा कार्यरत अनमी सुनिता उपाध्यायका अनुसार इनकम्प्लेटेड एभर्सन गराउनेको दर डर लाग्दो र त्योभन्दा पनि बाहिरी निजी मेडिकल तथा औषधि पसलमा एभर्सन गराउने औषधि खाएर आउनेको दर झन् भयानक बन्दै गएको बताइन् । कतिपय महिला त अन्तिम सास लिएर जिल्ला अस्पतालसम्म पुग्ने गरेको बताइन् ।
यस्तै जिल्लाको एक निजी मेडकलमा सञ्चालन असोक मल्लले एभर्सन गराउने औषधि खोज्न अधिकांश किशोर तथा पुरुष मान्छे र केही मात्रामा किशोरी तथा विवाहित महिला आफ्नो मेडिकलमा पुग्ने गरेको बताए । आफूलाई त्यो औषधि बिक्री गर्ने हक पनि नभएको र औषधि खोज्नेलाई अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सुझाव दिने गरेको मल्लको भनाइ छ ।