बझाङ : हिंसा प्रभावित महिला र सेवा दिने निकायहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यलयको आर्थिक सहयोग तथा अल्पकालिन महिला शुरक्षित आवास गृह ( सेभ हाउस ) बझाङको आयोजनामा एक औपचारीक कार्यक्रमका बिच उक्त अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।
समाज परिवर्तन संगै महिला हिंसा न्युनिकरणको लागि सरकारले अभियान सञ्चालन गरेको वर्षौ बित्दासमेत समाजमा हजारौ महिलाहरु हिंसा पिडित भएको पाइएको छ । अहिलेपनि बझाङ लगाएत सुदुरपहाडि जिल्लाहरुका हजारौ महिलाहरु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा विभिन्न हिंसाबाट पिडित रहेका सराकारवालाहरु बताउँछन् । कार्यक्रममा सहभागि जिल्लाका हिंसा प्रभावित महिलाहरुले परिवार समाजबाट अन्याय भोगेको र बाँच्ने आधार खोजेर भौतारिदै सेभ हाउसमा आइपुगेको बताएका छन् । उनिहरुले भावुक भएर आफ्ना दुखहरु सुनाउदै आफुहरु न्याय पाउने आशमा रहेको बताए ।
उक्त कार्यक्रमबाट हिंसा प्रभावित महिलाहरुलाई आयआर्जनको लागि आर्थिक सहयोग समेत गरिएको छ । जिल्लाका विभिन्न स्थानिय तहहरुबाट आएका नौ जना हिंसा प्रभावित महिलाहरुलाई आयआर्जनको लागि २०÷२० हजारका दरले आर्थिक सहयोग गरिएको हो । उनिहरुले उक्त सहयोगबाट आफुहरुलाई थोरै भएपनि राहात भएको बताएका छन् ।
हिंसा प्रभावित महिलाहरुलाई आर्थिक सँगसगै मानसिक परामर्शको समेत खाँचो रहेको कार्र्यक्रममा सहभागिहरुको भनाई छ । जन्मिसके पछि हरेक नागरिकहरुले समाजमा निर्धक्क भएर सम्मानका साथ बाँच्न पाउनुपर्ने अधिकार भएकाले कसैले पनि अधिकारबाट बञ्चित हुन नपर्ने सेभहाउसका कानुनी सल्लाहकार शिवराज जोशीले बताउनुभयो ।उहाँले महिलाहिंसाका घटनामा कमि नआएको बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै बझाङमा २५ वटा महिलाहिंसा विरुद्धका घटनाहरु दर्ता भएको तथ्याकं छ । कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख बजालले हिंसा प्रभावित महिलाहरुको व्यवस्थापनमा सधै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले हिंसा पिडितहरुको उद्धारकालागि नगरपालिकामै महिला विकास समिति स्थापना गरिएको र आगामि दिनहरुमा कसैले हिंसामा परेको महशुस गरेमा तुरुन्तै नगरपालिकामा खबर गर्न समेत आग्रह गर्नु भएको छ । यस्तै उपप्रमुख रतन बहादुर सिहँले महिलाहरुले पालिकामा सबैसँग खुलेर समस्या भन्न नसक्ने भएकाले सेभ हाउस स्थापना गरिएको बताउनुभयो । उहाँले क्षणिकरुपमा हिंसा प्रभावितलाई सहयोग गरेरमात्रै उनिहरुलाई नहुने भएकाले दिगो आर्यआर्जनका कार्यक्रममा समेटेर आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपालमा महिला विरुद्धको हिंसाबाट कुनै वर्ग, जातजाति, संस्कृति र राजनीतिसमेत अछुतो छैन । यो पारिवारिक तहदेखि राष्ट्रिय स्तरसम्म भेटिने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । धार्मिक आस्था र सम्प्रदायमा आधारित सामाजिक बनावट, विभेदपूर्ण नीति र कानूनहरुको प्रभावले समेत महिला हिंसा बढी संवेदनशील बन्न पुगेको छ । लैङ्गिकतामा आधारित हिंसा, लिङ्ग पहिचानको अवस्थादेखि मृत्यु पर्यन्त छ जसका पछाडि शताब्दीयौं देखि जकडिएको धार्मिक रुढीवाद, अन्धविश्वास र शक्ति सम्बन्धको विभेदले यसलाई बढी जटिल र संवेदनशील बनाएको छ विशेषतः नेपालमा लिङ्ग छनौट, गर्भपतन, गर्भावस्थामा कुटपिट, शिशु अवस्थामा बालिकाको हत्या, शारीरिक दुव्र्यवहार, बालविवाह, हाडनाता करणी, कार्यस्थलमा यौन दुव्र्यवहार, वैवाहिक बलात्कार, एकल महिलालाई हेला, भेदभाव जस्ता हिंसाहरु हुने गरेको महिलालाई शरिरीक एवं मानसिक यातना दिने, घरबाट बाहिर निकाल्ने, सम्पत्तिबाट वन्चित गर्ने, जस्ता हिंसाका परिणामहरु अहिलेपनि हाम्रो समाजमा कायम रहेका छन् ।
जयपृथ्वी नगरपालिकाका उपप्रमुख तथा सेभ हाउसका संचालक एवं व्यवस्थापन समिति संयोजक रतन बहादुर सिहँको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी रहनु भएको थियो । कार्यक्रममा सेभहाउस प्रमुख गिता शाहि एवं अन्य प्रतिनिधि, विभिन्न संघसस्थाका प्रमुखहरु, बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारी, महिला अधिकारकर्मिहरु, कानुनी सल्लाहकार, पत्रकार लगाएत हिंसा प्रभावित महिलाहरुको सहभागिता रहेको थियो ।