केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा सौर्य उर्जाबाट उत्पादित ५५ किलोवाट विद्युत परिक्षण प्रसारण गरिने भएको छ ।
बैकल्पिक सौर्य उर्जा प्रबर्द्धन बानेश्वर काठमाडौंको ९० प्रतिशत र केदारस्युँ गाउँपालिकाको १० प्रतिशत लगानीमा ५५ किलोवाट बिजुली अहिले साँझ ७ः३० बजेबाट परिक्षण प्रसारण सुरु गरिएको हो ।
केदारस्युँ गाउँपालिका वडा नम्बर ३ का मैतोली, तलवाडा, डाफ्रु, कालीकुडा, गैरकोल्ला, ओडार गाउँ, भाडीकोट, सिराडी र काँकरहान्ना गाउँमा ५५ किलोवाट पिक सौर्य मिनिगृडको जडान कार्य सम्पन्न भएर परिक्षण प्रसारण गरिन लागिएको बैकल्पिक सौर्य उर्जा प्रबर्द्धन बानेश्वर प्राविधिक प्रेम लामा तामाङले बताउनुभयो । परिक्षण अवधि आगामी १० दिनसम्म ९ वटै गाउँका कोही कसैले विद्युत पोल तारमा नछुन उहाँको अनुरोध छ ।
अघिल्लो वर्षदेखि प्रक्रिया सुरु भएको यस सौर्य उर्जाले केदारस्युँ ३ को ९ गाउँका २२८ घरधुरी लाभान्वित हुन लागेको प्राविधिक तामाङले बताउनुभयो । उहाँका अनुसार एक हप्ताको परिक्षण प्रसारण सफल भएपछि यस उर्जा गृहले युनिटका आधारमा बिल उठाउनेछ ।
केदारस्युँ ३ का सानाठूलान गरि ९ गाउँ लाभान्वित भए पनि अझैं हसाडा, गडीगाउँ, झड्खेत, कापडी गाउँ भने अध्याँरोमा दिन गुजार्न बाध्य भएका छन् । उनीहरुले सौर्य उर्जाभन्दा पनि तत्काल राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गरिदिन गाउँपालिका र नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेका स्थानीय डम्बर खातीले बताउनुभयो । सौर्य उर्जा दिगो नहुने र सबै गाउँमा नभ्याउने हुँदा तत्काल विद्युत विस्तारमा ध्यान दिन स्थानीयले माग ।