छबिसपाथिभेरा गाउँपालिकाले पहिलो निति कार्यक्रममै राम्रो काम गर्ने वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पुरस्कृत गर्ने निर्णय सर्वसम्मत पारित गर्यो । गाउँपालिकाको यो निर्णयले जनप्रतिनिधिलाई राम्रो काम गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको थियो ।
फलस्वरुप अरु जनप्रतिनिधिभन्दा छबिसपाथिभेरा १ का वडाध्यक्ष करनजंग बहादुर सिंह हरेक काम जनप्रिय गर्दै जानुभयो । उहाँले एक वर्षको अवधिमा वडाभित्र नहर, आरसीसी बाटो, विद्यालयमा निशुल्क कापी वितरण, प्रहरी चौकी व्यवस्थापन जस्ता काम सक्नुभयो ।
यो काम छबिसपाथिभेरा अन्य वडाभन्दा बढी र समयमै सम्पन्न भएका थिए । आर्थिक वर्ष २०७९/८० मा योजना तथा कार्यक्रम समयमै सम्पन्न गरेको भन्दै पालिकाले वडाध्यक्ष सिंहलाई पाँच लाख नगद पुरस्कार प्रदान गरियो ।
सिंह व्यापारी पनि भएकाले उहाँले आफूले पाउने सेवा सुविधा सबै वडाबासीको हितमा लगानी गर्दै आउनुभएको छ । उहाँको कामको मूल्यांकन गर्दै छबिसपाथिभेरा गाउँपालिकाले उहाँलाई केही समय अगाडी ५ लाख नगद पुरस्कार प्रदान गरेको थियो ।
त्यही पुरस्कार रकमलाई वडाध्यक्षले सिंहले जनताको हितमा लगाउने निर्णय गर्नुभयो । उहाँले बगडगाउँस्थित सडक छेउमा जयपृथ्वी बहादुर सिंह यात्रु प्रतिक्षालय र सानो सालिक निर्माण गर्नुभएको छ ।
यसले एकातिर यात्रु तथा स्थानियलाई बस्न सहज हुने भएको छ भने अर्कातिर मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको सम्मान भएको छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराले बताउनुभयो । जयपृथ्वीबहादुर सिंह यात्रु प्रतीक्षालयको निर्माण गरेको भन्दै वडा अध्यक्ष सिंहलाई टिका खादासहित सम्मान गरिएको छ ।
शुक्रबार जयपृथ्वी बहादुर सिंह यात्रु प्रतिक्षालयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । प्रतिक्षालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सिंहले भन्नुभयो, ' यो प्रतिक्षालय मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले गरेका योगदान चिनाइ राख्न र यात्रुहरुको सहजताका लागि आफुले मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह यात्रु प्रतीक्षालयको निर्माण गरिएको हो । यसलाई संरक्षण गर्नु सबैको कर्तव्य हो ।'
शुक्रबार वडा अध्यक्ष करन जङ्ग बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउने प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष लक्षिमन बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन बहादुर ऐडी, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धीजीबी, विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, शिक्षक तथा कर्मचारी र वडाबासीको उपस्थिति रहेको थियो ।