बझाङ सदरमुकाम चैनपुरमा गयराति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार भएको छ ।
सुर्मा गाउँपालिका ३ घर भइ हाल सदरमुकाम चैनपुरस्थित सुर्माटोलमा कोठा भाडामा लिएर बसिरहेका कलक बिक ‘चौगाईँ’ का श्रीमती २७ वर्षीया सुनिता बिक, छोराहरु ७ वर्षीय आदित्य बिक र ४ वर्षीय आबेल बिकमाथि गयराति चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारबा६ घाइते तीनै जनालाई जिल्ला अस्पताल लगेर उपचार भइरहेकाे र उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।
कलक बिक काम शिलशिलामा हाल काठमाडौंमा रहेका बेला मुखमा मास्क लगाएर मध्यराति कोठाभित्र छिरेका अज्ञात व्यक्तिले उनकी श्रीमति र दुई छोरालाई चक्कु प्रहार गरि एउटा एनरोइड मोबाइल लुटेर लगेको पिडितको भनाई छ ।
‘आक्रमणकारीले आफ्नो पहिचान लुकाउन मास्क लगाएका थिए । सुतिरहेका बेला सबैलाई चक्कु प्रहार गर्दै मोबाइल लुटेर लगे ’ घाइते श्रीमतीलाई उद्धृत गर्दै विकले भने ।
‘चैनपुरजस्तो सानो बजारमा पनि मान्छेहरु घरभित्र असुरक्षित हुने कुराले सबै टोलबासी त्रसित भएका छन् । मेरो व्यक्तिगत कोहीसँग पनि केही दुश्मनी छैन । यदि मेरो ब्यवहारबाट कसैलाई केही चोट परेको छ भने कृपया मसँग कुरा गर्न सकिन्छ, परिवासँग नलाग्न विनम्र अनुरोध गर्दछु । म अहिले कामको शिलशिलामा काठमाडौं रहेकाले बालबच्चाहरु सुतेको अवस्थामा यो घटेको छ । अपराधीलाई चाडोभन्दा चाँडो खोजी गरि कानुनी दायरामा ल्याएर कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बझाङलाई अनुरोध गर्दछु । अन्यथा म आफ्नो परिवारको निम्ति जस्तो सुकै परिस्थितिको सामना र प्रतिकार गर्न तयार हुनेछु ।’ विकले सामाजिक सञ्जालमा लेखेका छन् ।
घटना घटेको केहिबेरदेखि आफूसहितको टोली अनुसन्धानमै रहेको डिएसपी तथा बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीले बताए । डिएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको चक्कु बिककै भान्साकै रहेको पाइएको छ । ‘घटना शंकास्पद रहेकाले हामी गहिरिएर अनुसन्धान गरिरहेका छौं ।', डिएसपी भण्डारीले भने ।