प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबासी थियो । नेपाल र चीनबीचका १४ वटा नाका खुला गरिए पनि ताक्लाकोट नाकाको बारेमा प्रधानमन्त्री प्रचण्डले नाम नै लिएनन् । यसलाई प्रचण्डको वेवास्ता भन्ने की कुटनितिक कमजोरी भन्ने पर्खाइमा बसेकाहरुका लागि निकै स्वर्णिम अवषर गुमेको भान भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिम सरकार, साइपाल गाउँपालिकाका जनप्रतिनिधि र यहाँका व्यापारीले प्रत्यक्ष भेटेर नाका खोल्नका लागि एजेन्डामा समेटेर चीन भ्रमणमा जान आग्रह समेत गरेका थिए । छिमेकी हुम्ला र दार्चुलाको नाका खुले पनि बिचमा रहेको ताक्लाकोट नाका नखोल्नु विडम्बना भएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।
यो नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका छन् । ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको व्यापारी जगत तामाङ बताउँछन् ।
नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । कोराना महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाइ छ ।
जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।
चार वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन नसकेको स्थानीय कन्जु भण्डारीले बताए । चार वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको व्यापारी जगत तामाङले बताए । ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ ।
बझाङ सदरमुकाम चैनपुरबाट १ सय १८ किलोमिटर टाढा पर्ने ताक्लाकोट नाका सञ्चालन गर्ने घोषणा २०५० सालमै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने बताएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताएका थिए । चुनाव जितेपछि चैनपुर–ताक्लाकोट सडक विस्तार गरिने र नाका पनि सञ्चालन गर्ने उनीहरूको घोषणा थियो । तर, ती सबै भाषणमै सीमित रहे ।
खासमा ताक्लाकोट नाका नेताहरूका लागि चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र बेवास्ताका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ । नाका सञ्चालन गर्नेबारे तीनै तहका सरकारले चासो नदिएका जिल्लाबासीको गुनासो छ ।
नाका सञ्चालनमा अब ढिला गर्न नहुने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलि बताउँछन् । उनले भने, ’नाका सञ्चालनका लागि प्रदेश सरकारले न कहिल्यै बजेट विनियोजन गर्छ, न यस विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँछ । कुलो, नहर, पुल, मन्दिर बनाउने काम स्थानीय सरकारको हो । प्रदेश सरकारले त प्रदेशको गौरवका आयोजना निर्माण गर्नुपर्ने हो ।’ प्रदेश सरकारलाई ताक्लाकोट नाका पनि सुदूरपश्चिममै पर्छसम्म थाहा नभएको उनको आरोप छ ।
विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनको विषयमा राज्यको ध्यानाकर्षण गरिएको भए पनि सरकारको ध्यान जान नसकेन जिल्लाबासी बताउँछन् । आफूले बेला–बेलामा यो नाका खोल्नका लागि संसदमा बोल्दै आएको निवर्तमान प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले बताइन् ।
’मैले सुरुवाती चरणदेखि ताक्लाकोट नाकाको विषयमा आवाज उठाउँदै आएकी छु । आफूले पटक पटक ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छु’, उनले भनिन् ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसँग गुहारेको बताउँछन् । तर, आफ्नो गुनासो कसैले नसुनेको उनको भनाइ छ ।
हेर्नुहोस् नाका खोल्नका लागि भएको सम्झौता