दिउँसोको उखरमाउलो गर्मी थियो । खौलाका व्यापारी सबै आ- आफ्नै धुनमा थिए । दिउँसोको २:३० बजे उत्तम चँदाराको काठ र जस्तापाताले छाएको ईलेक्ट्रोनिक पसलबाट अचानक धुँवाको मुस्लो देखियो ।
दिउँसोको १ बजेपछि खौला बजारमा हावा चल्ने समय भएकाले वरिपरि रहेका पार्वतीदेवी सिंहले सञ्चालन गरिरहेको हाते होजियारी उद्योग र अनिस सुनारले सञ्चालन गरिरहेको सुनचाँदी पसलमा आगोको लप्काले छुन समय लागेन ।
आगो बाहिर देखिन थालेपछि पसल सञ्चालक सिंह आत्तिदै बाहिर निस्केर गुहार माग्न थालिन् । आगलागी सुरु भएको पसलका सञ्चालक उत्तम चँदारा काम विशेषले चैनपुर थिए भने मिन बहादुर गुरुङ साइपाल गएका छन् । सँगैको सुनचाँदी पसल सञ्चालक अनिस सुनार पनि काम विशेषले बाहिर हुँदा आगो नियन्त्रण गर्न सहज भएन ।
बन्द रहेका पसलभित्र रहेका ग्याँस र अन्य वस्तुले झन् झन् आगोलाई बल पुग्यो । आगो नियन्त्रका लागि खौलादेखि दाँतोलासम्मका स्थानीय, तल्कोट गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी भए पनि पानी अभाव र हावाको बेगले गर्दा आगो नियन्त्रण गर्दा करिब तीन घण्टा लाग्यो ।
तीनघण्टासम्म लगातार दन्केको आगोले हेर्दाहेर्दै पाँच पसलमा पूर्णरुपमा क्षति पुर्यायो भने एक पसलमा आंशिक क्षति हुन पुग्यो ।
आगो नियन्त्रणपछि आगलागीको कारण के रहेछ भन्नेमा सबै पुगे । आगो सुरु भएको चँदाराको इलेक्ट्रोनिक तथा मोबाइल ग्यालरी पसल बन्द भएकाले सबैले सोलारको तार सर्ट भएको हुनसक्ने अनुमान गरेका छन् तर यकिन खुल्न सकेको छैन ।
आगलागीबाट उत्तम चँदाराले सञ्चालन गरिरहेको मोबाइल ग्यालरी तथा कम्प्युटर टेर्निङ सेन्टर, अनिस सुनारले सञ्चालन गरिरहेको सुनचाँदी पसल, पार्वतीदेवी सिंहले सञ्चालन गरिरहेको हाते होजियारी उद्योग, मिनबहादुर गुरुङले सञ्चालन गरिरहेको होटेल तथा किराना पसल, अन्जली शाह सिंहले सञ्चालन गरिरहेको शृङ्गार तथा फेन्सी पसलमा पूर्ण क्षति पुगेको छ भने बिष्णु बुढाले सञ्चालन गरिरहेको मोबाइल ग्यालरीको आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार केही पसल सञ्चालक घटनास्थलमा नभएकाले अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी खटिएका थिए ।