बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् । आफूहरुले पटक पटक नगरपालिका कार्यालय धाए पनि नगर प्रमुख जयबहादु धामीले हुन्छ भन्दै टार्ने गरेको उनीहरुको गुनासो छ ।
बुंगल नगरपालिकामा मात्रै हाल ७ सय बढी अपांगता भएका व्यक्ति भएको तर तीनै तहका सरकारको वेवास्ताका कारण आफूहरुको जीवन कष्टकर बनिरहेको बुंगल नगरपालिका अपांग संघका सदस्य रामबहादुर बोहराले गुनासो गर्नुभयो ।
उहाँले बुंगलका अपांगहरुलाई घरमा भन्दा एक ठूलो अपांगता मैत्री भवन निर्माण गरेर व्यवस्थापन गरिदिन बुंगल नगरपालिकालाई अनुरोध गरेको तर नगरपालिकाले हुन्छ भनेर मात्रै टार्ने गरेको दुखेसो गर्नुभयो ।
'संघियता आएपछि सरकारले आफूहरुलाई व्यवस्थापन गर्ला भन्ने आशा थियो तर स्थानीय सरकारले अहिलेसम्म हामीलाई सामान्य कार्यक्रम पनि दिएन ।,' बुंगल नगरपालिका अपांग संघका अध्यक्ष गोपाल धामीले भन्नुभयो।
'एउटा भवन मात्रै भए पनि हामी सबै जना मिलेर बस्ने थियौं । तर हामीले सयौं पटक धाउँदा पनि मतलव गरेनन् मेयर ज्यु । हामीलाई दैवले पनि हेप्यो । सरकारले पनि हेप्यो । न पढ्न पायौं न घरमा सम्मानजनक व्यवहार छ । मर्न पनि सकिदैन ।,' बुंगल नगरपालिका अपांग संघका सचिव जगत नाथले दुखेसो पोखे ।
घरमा अनावश्यक दबाब हुने र रोजगारीका अवषर पनि नभएकाले अपांगहरुलाई समस्या हुँदै आएको छ । नगरपालिकाले पालिकाभरका अपांगको तथ्यांकसमेत नराखेको र आफूहरुको एकताले मात्रै केही अपांग खुलेर आएको सचिव नाथको भनाई छ ।
देशका चितवन, पोखरा लगायत ठाउँमा स्थानीय तहमा अपांगलाई लक्षित धेरै रोजगारीका अवसरसमेत सिर्जना गरिएको तर यहाँका स्थानीय तहले अपांगलाई कुनै पनि कार्यक्रम नल्याएको अंपागहरुको गुनासो छ ।