इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको आज दाहसंस्कार गरिएको छ । प्यालेस्टाइनी समूह ‘हमास’ को आक्रमणमा परी गत असोज २० गते मृत्यु भएका गणेशको आज २० दिनपछि सिमभाडीस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।
बिहीबार बिहान ९ बजे काठमाडौंबाट ल्याइएको शव आज दिउँसो १२ बजे उनको निवास भोपुर पुगेको थियो । छोराको शव देखेर भक्कानिएका गणेशका आमाबुबा अचेत अवस्थामा छन् ।
उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए । उनको शवमाथि नेकपा माओवादी केन्द्रले पार्टीको झण्डा पनि ओडाएको छ ।
उनी कक्षा ११ देखि विद्यार्थी राजनीतिमा लागेका उनी अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति, सुदुरपश्चिम विश्वविद्यालय कमिटीका सचिव पनि हुन् । २०५५ सालमा धनलाल नेपाली र लक्ष्मी आउजीको कोखबाट जन्मिएका गणेश पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए ।
चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए । आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।
गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणको सिकार भए । उक्त आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।