बझाङ : सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा परेका छन्। तत्काल खाद्यान्न ढुवानी हुन नसके चरम भोकमरी हुने भन्दै ढुवानीको व्यवस्था मिलाइदिन विभिन्न निकायमा पहल गरे पनि सफल हुन नसकेको गाउँपालिकाले जनाएको छ।
यसअघि खाद्यान्न ढुवानी गरिरहेको ठेकेदार कम्पनीले पहिलाकै दरभाउमा ढुवानी गर्न नसक्ने बताएपछि साइपालमा खाद्यान्न पुग्न नसकेको हो। चालु आर्थिक वर्षका लागि सरकारले छुट्याएको २ हजार क्विन्टल खाद्यान्न चैतमै सकिएको थियो। सरकारले छुट्याएको खाद्यान्न अपुग भएको भन्दै जनप्रतिनिधिहरू काठमाडौं धाएपछि सरकारले साइपालका लागि १ हजार ५ सय क्विन्टल खाद्यान्न थप गरेको थियो।
गाउँपालिका उपाध्यक्ष र चार जना वडाध्यक्षसहित चामल माग्न काठमाडौं पुगेका उनीहरूले चैत पहिलो साता उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र खाद्य व्यवस्था कम्पनीका महाप्रबन्धकसमक्ष पुगेर खाद्यान्न अभावको अवस्थाबारे जानकारी गराएपछि सरकारले साइपालका लागि कोटा थप्ने निर्णय गरेको थियो। ‘ठेकेदारले मैले सम्झौता गरेको चामल सबै ढुवानी गरिसकेको छु। अब पहिलाकै रेटमा चामल ढुवानी गर्न सक्दिनँ भनेपछि समस्या भएको हो,’ साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पहिला ढुवानी भएको सबै सकिइसकेको छ। तत्काल खाद्यान्न पुर्याउन सकिएन भने जनता भोकभोकै मर्ने अवस्था छ।’ मुनाल कन्स्ट्रक्सनले यसअघि दुई हजार क्विन्टल चामल प्रतिकिलो ३८ रुपैयाँका दरमा ढुवानी गरेको उनले बताए। अहिले थप भएको १ हजार ५ सय क्विन्टलको हकमा प्रतिकिलो ६५ रुपैयाँभन्दा कममा ढुवानी गर्न नसक्ने बताएपछि खाद्यान्न साइपाल पुर्याउन समस्या भएको हो। जेठ दोस्रो साताभित्र साइपालमा खाद्यान्न पुर्याउन नसके वर्षात् सुरु हुने र त्यहाँ जाने बाटो बिग्रने भएकाले ढुवानी गर्न अझ कठिन हुने धामीको भनाइ छ।
खाद्यान्न ढुवानी हुने/नहुनेबारे अन्योल भइरहेकाले भोकमरीको चिन्ताले सताउन थालेको स्थानीय बताउँछन्। ‘अस्तिसम्म सबैले चामल आउँछ भन्दै थिए। अहिले ठेकेदारले ल्याउन मानेको छैन भन्छन्। चामल आएन भने के खाएर बाँच्ने हो, चिन्ता लाग्न थालेको छ,’ धलौनकी जोग्यानी धामीले भनिन्। कतिपयले घरमा खाद्यान्न सकिएका कारण चार दिनको पैदल बाटो आउजाउ गरेर छिमेकी तल्कोट गाउँपालिकाबाट खाद्यान्न ल्याउन थालेको उनले बताइन्। ‘मान्छे र पैसा हुनेले त पिठ्युँमा बोकेर पनि खालान्। नहुनेले के खाने?’ उनले प्रश्न गरिन्।
अघिल्ला वर्षमा स्थानीय उत्पादनले ३ महिनासम्म पुग्ने भए पनि यो वर्ष खडेरीका कारण हिउँदेबालीको उत्पादन शून्य रहेकाले समयमै खाद्यान्न नपुगे भोकमरी हुने साइपाल–१ का वडाध्यक्ष गोपाल बोहराले बताए। ‘खडेरी नभएको भए अहिले नै भोकमरी हुने थिएन। यो वर्ष कसैले गहुँको गेडो नै देख्न पाएनन्,’ उनले भने, ‘सबै खाद्यकै चामलको बाटो हेरेर बसेका छन्। चामल छिटो पुगेन भने भोकभोकै मर्ने अवस्था छ।’ वैशाखदेखि यार्सा तथा जडीबुटी संकलनका लागि सयौंको संख्यामा बझाङका अन्य पालिका तथा बाहिरी जिल्लाबाट मानिस साइपाल जाने भएकाले खाद्यान्नको माग झन् बढेको उनको भनाइ छ।
इन्धनको मूल्य बढेको र बाटोमा पर्ने अस्थायी पुल पनि बग्न लागेकाले आफूले पुरानै मूल्यमा ढुवानी गर्न नसक्ने खाद्यान्न ढुवानी गरिरहेको ठेकेदार कम्पनी मुनाल कन्स्ट्रक्सनका प्रोप्राइटर दीपक रोकायाले बताए। सरकारले थप गरेको खाद्यान्न कोटा ठेकेदारले ढुवानी गर्न नमानेपछि जिल्ला खाद्य व्यवस्था समितिको बैठक बसेर वैकल्पिक व्यवस्था गर्न कम्पनीलाई अनुरोध गरिएको जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्षसमेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले जानकारी दिए। -बसन्तप्रताप सिंह/ कान्तिपुर