जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो ।
घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्ने गरी टिमुर टिप्ने नगरेको खप्तडछान्ना गाउँपालिका -५ का स्थानीय देवकी थापाले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँ पर्ने टिमुरको मेहनत गरे अनुसार मूल्य नपाउँदा टिप्नै छोडेको थापाको भनाई छ ।
बझाङमा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गर्दछन् तर बजारमा बेच्नका लागि खासै नटिप्ने गरेको स्थानीय बताउँछन् । बझाङका प्राय:जसो स्थानीय तहमा टिमुर खेती हुने गरेको छ ।
आयुर्वेदिक प्रणाली अनुसार दाँत दु:खेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ। टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यति मात्र होइन अहिले प्रत्येक दिनमा खाना र चटनीमा पनि टिमुर प्रयोग हुँदै आएको छ । नेपालमा वार्षिक सरदर एक हजार दुई सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ ।
टिमुरका फाइदा
टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । बास्नादार टिमुरलाई मसलाका रूपमा लिइन्छ । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क भनिन्छ ।
यसको बिरुवामा काँडैकाँडा हुन्छ । नेपालको महाभारत पर्वत शृंखलाको १२०० देखि २,५०० मिटरसम्मको उचाइका खुला पाखामा पाइन्छ । यसका अण्डवृत्त आकारका पात हन्छन् । पातका टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेँला स–साना फूलहरू फुल्छन् ।
यसका फलहरू स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ । बीउ गोलो र सानो हुन्छ । यसको गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गर्नुपर्छ । पाकेपछि झर्छ । संकलन गरिएको टिमुर राम्ररी सुकाई सुक्खा गोदाममा राख्नुपर्छ ।
यसको सेवनले वायु शमन हुन्छ । दाँत दुखेको निको पार्न पनि यसको सेवन गरिन्छ । यसको सेवनले चिसोजन्य ज्वरो निको हुन्छ । टिमुर अजिर्ण र हैजा इत्यादिमा उपयोगी मानिन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाने प्रचलन छ । यसलाई मसलाका रुपमा मासुमा राख्न सकिन्छ ।
खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड) को औषधिका रूपमा समेत टिमुरको प्रयोग गरिन्छ । हिजोआज टुथपेस्ट बनाउने कम्पनीहरुले पनि टिमुरको उपयोग गर्न थालेका छन् ।