सरस्वती आधारभुत विद्यालय दुर्गाथली ५ बुढामेलले देउसी भैलो खेलेर निजी शिक्षकलाई तलब खुवाउने तयारी गरेको छ ।
विद्यालयले यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म ४ दिन देउसी भैलो खेलेर संकलन भएको ३ लाख ४७ हजार १ सय ६० रुपैँया निजी शिक्षकलाई तलब खुवाउने तयारी गरेको हो ।
सरस्वती आधारभुत विद्यालयका विव्यस अध्यक्ष त्रिदेव जप्रेलको अगुवाइमा विद्यालय वरपरका बस्तीहरु बुढामेल, वाइकाट्टे, बाजागाडा, सैन, ठाटा र चम्ला गाउँमा पुगेर देउसी भैलो खेल्दै ३ लाख ४७ हजार १ सय ६० रुपैँया रकम संकलन भएको हो । देउसी भैलोमा विद्यालयका शिक्षक विद्यार्थीसँगै स्थानीयले पनि साथ दिएका थिए ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा अस्थायी शिक्षकलाई तलब खुवाउन आयोजना गरिएको देउसी भैलो कार्यक्रममा सबैभन्दा धेरै सहयोग छान्नेखोलाका ९० वलर्षीया हासुदेवी जप्रेल ११ हजार एक सय रुपैंया चन्दा सहयोग गर्नुभएको छ । यसैगरि बुढामेलका राजेन्द्र जप्रेलले १० हजार १ सय २० रुपैँया चन्दा विद्यालयका लागि सहयोग गर्नु भएको छ ।
विद्यालयका विव्यस अध्यक्ष त्रिदेव जप्रेलले आफू यसै विद्यालयबाट अध्ययन गरि हुर्केको हुँदा खस्किदै गइरहेको विद्यालयको शैक्षिक गुणस्तर उकास्न दुई जना अस्थायी शिक्षक नियुक्त गरेको र तलब खुवाउन असहज भएकाले शुभदिपावलीको अवसर पारि देउसी भैलो खेलेर चन्दा संकलन गरेको बताउनुभयो ।
उहाँले यसअघि यस विद्यालयमा एक जना शिक्षक र एक जना कार्यालय सहयोगी मात्रै भएकाले पढाइ नहुने गरेको र विद्यार्थीहरु बोर्डिङ र अन्य विद्यालयतिर जान थालेको हुँदा अस्थायी शिक्षक राखेरै भए पनि पढाइ गर्नुपर्ने बाध्यता सिर्जना भएको पनि बताउनुभयोे ।
उहाँका अनुसार यसअघि सुनसान भएको सरस्वती आधारभुत विद्यालय बुढामेलमा शैक्षिक सत्र २०८० मा २ जना अस्थायी राखेर पढाउन थालेपछि थप ४६ जना विद्यार्थी पुगेको र निरन्तर पढाइरहेको छ ।