प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जयपृथ्वी नगरपालिका भित्रका ९ वटा विद्यालयका लागि १४ वटा अस्थाई सिकाइ केन्द्र बन्न थालेका छन् । असोज १६ गते आएको भुकम्पले जयपृथ्वी नगरपालिकाभित्रका प्रायः जसो विद्यालय पठनपाठन गर्न योग्य नभएपछि प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा ९ वटा विद्यालयका लागि अस्थाई सिकाइ केन्द्र बन्न थालेका हुन् ।
एक सिकाइ केन्द्रमा दुईवटा कोठासहित बसाइँ व्यवस्थापन सामाग्री, शिक्षक सिकाई सामग्रीसँगै मनोसामाजिक परामर्श गरिने कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको संख्या र विद्यालयको क्षति अनुसार अस्थाई सिकाइ केन्द्र बन्न थालेका हुन् ।
अहिले मुड्तीनदेव आधारभूत विद्यालय जयपृथ्वी नगरपालिका-३ पुगरको २ कोठे अस्थाई सिकाइ केन्द्र अन्तिम चरणमा पुगेको छ भने बेताल आवि जनपा १ मा ५ कोठे सिकाइ केन्द्रसहित अस्थायी सौचालय, नारायण मावि जनपा १ मा २ कोठे, जनजागृति जनपा १ भण्डार २ कोठ, बालविकास मावि जनपा ४ गोला ४ कोठे, सुनिपिपल मावि जनपा ७ सुवेडामा २ कोठे सिकाइ केन्द्रसहित सौचालय, बालमन्दिर आवि जनपा १० चैनपुरको ८ कोठे सिकाइ केन्द्रसहित सौचालय, नाननदेव आवि जनपा ११ डाँडागाउँको १ कोठे, लुयाँटा आवि जनपा ०५ डिलबगरको २ कोठे गरि ९ विद्यालयका १४ वटा अस्थाइ सिकाइ केन्द्र बनिरहेका छन् ।
यी केन्द्र बनेपछि विद्यार्थीलाई पठनपाठन गर्न र भुकम्पबाट हुने जोखिम न्युनिकरण गर्न सहज हुनेछ । एक अस्थायी सिकाई केन्द्रमा २ कोठाको व्यवस्था गरिएको छ भने सिकाइ केन्द्र फलाम र काठबाट बनाइन लागेको व्यवस्थापक जोशीले बताउनुभयो । एक सिकाई केन्द्रको लागत करिब ३ लाख ६० हजार बराबर हुने गरेको व्यवस्थापक जोशीको भनाई छ । पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत हाल यी अस्थाई सिकाई केन्द्र बनिरहेका उहाँले बताउनुभयो ।
पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत नै यसअघि १ सय ५८ भुकम्प प्रभावितलाई खाद्यान्न, दुई सय परिवारलाई गैरखाद्य सामाग्रीहरु त्रीपाल, ब्लाङ्केट र तीन सय परिवारलाई न्यानो कपडा बितरण गरिएको थियो । आगामी दिनमा पनि अस्थाई सिकाइ केन्द्र बनिसकेपछि त्यहाँ बसाइँ व्यवस्थापन सामाग्री, शिक्षक शिकाई सामग्रीसँगै मनोसामाजिक परामर्श गरिने कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताउनुभयो । उहाँका अनुसार आगामी जनावरी महिनाभित्र सबै विद्यालयका अस्थाइ सिकाइ केन्द्र निर्माण भइसक्ने छन् ।