जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा रहेको पाण्डु माध्यामिक विद्यालयले विविध कार्यक्रम गरि आफ्नो ६३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विगत ४ दिनदेखि विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले आज पर्न गएको वार्षिक उत्सव अभिभावक दिवस कार्यक्रमको अवसरमा विद्यालयको हक हितका लागि योगदान पुर्याउने र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि सम्मान र पुरस्कृत गरेको हो ।
वार्षिक उत्सवको अवसर पारी विद्यालयलाई जग्गा दान गर्ने डवल खड्काको परिवार,इन्द्रगिरी खड्काको परिवार,हरि खड्काको परिवार,प्रेमबहादुर खड्काको परिवार जग्गादातालाई सम्मान गरिएको छ भने यस्तै संस्थापक प्रधानाध्यापक स्वर्गीय धनबहादुर ओलीलाई मरणोपरन्त सम्मान गर्दै उहाँका छोरा जनक बहादुर ओलीलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । यस्तै पुर्व शिक्षकहरु प्रेमबहादुर रोकाया,रंगलाल जोशी र मानबहादुर खड्कालाई सम्मान पनि गरिएको छ ।
विद्यालयको हकहितका लागि लड्दै आएका तीन दाजुभाई जयपृथ्वी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर खड्का,भैरबहादुर खड्का र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष गंगबहादुर खड्काले तीन लाख बराबरको प्रेमबहादुर किडीदेवी खड्का अक्षय कोष पाण्डु स्थापना गर्नुभएको छ । यो अक्षयकोषबाट हरेक वर्ष गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । साथै आगामी दिनमा यो अक्षय कोषको आकार बढाउँदै लगिने पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष गंग खड्काले बताउनुभयो ।
यस्तै सत्यवादी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक लालबहादुर खड्काले पनि आफ्ना स्वर्गीय बुबा धौले खड्का र छोरा हिरेन्द्र खड्काको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । यस कोषबाट पनि हरेक वर्ष गरिब, जेहेनदार विद्यार्थीलाई वितरण गरिनेछ ।
वडा नम्बर ३ का वडाध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंग खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उप प्रमुख रतनबहादुर सिंह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक जन्मजय जोशी गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक श्यामबहादुर खातीले विद्यालयको तर्पबाट स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक जनक उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि तथा जयपृथ्वी नगरपालिकाका उप प्रमुख रतनबहादुर सिंहले विद्यालयको शैक्षिक गुणस्तरलाई बलियो बनाउन शिक्षक अभिभावकको सबैभन्दा बढी दायित्व हुने भएकाले शिक्षा क्षेत्रमा हुने वेथितिबारे अभिभावकले चाँसो राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर खड्का, सत्यवादी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक लालबहादुर खड्का, वडाका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, वुद्धिजिवि, समाजसेवी तथा स्थानीय लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बेलाबेला विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रदर्शन गरि मनोरञ्जन दिलाएका थिए । अभिभावकका लागि पनि महिला चियर रेस कार्यक्रम पनि आयोजना गरिएको थियो । हाल कक्षा १२ सम्म पढाइ हुने पाण्डु माध्यामिक विद्यालयमा अहिले ४ सय ३६ जना विद्यार्थी अध्ययनरत छन् ।