बझाङ : जयपृथ्वी नगरपालिकामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ४५ दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यलयको समन्वयमा गएको असोज ६ गतेदेखि जिल्ला प्रहरी कार्यलय बझाङमा सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
दीक्षान्त समारोहमा प्रमुख अतिथी समेत रहनुभएका जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले दिक्षित हुनुहुने नगर प्रहरीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उक्त आधारभूत तालिमबाट नगर प्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले “स्वच्छ, सफा, समृद्ध, सुन्दर – जयपृथ्वी नगर” भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्न सहयोग गर्नु नगरप्रहरीहरूको मुख्य कार्य रहने बताउनुभयो । त्यसका साथसाथै उहाँले ४५ दिने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान गर्नुहुने प्रशिक्षक, सहजकर्ताका साथै तालिमका लागि भौतिक पूर्वाधार उपलब्ध गराइ सहयोग गर्ने जिल्ला प्रहरी कार्यलय बझाङलाई आभार व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा नगर प्रहरीहरूबाट कवाज प्रदर्शनीका साथै नगर प्रमुख बजालले नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभयो । जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरीक्षक एवं डिएसपी भरत बहादुर शाहको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथीमा नगर उपप्रमुख रतन बहादुर सिहँ, प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशी र प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल रहनुभएको थियो । अतिथीमा वडा नं १ देखि ११ का वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, नगरपालिकाका अन्य कर्मचारी रहनुभएको थियो भने तालिमका सहजकर्ता, सुरक्षाकर्मि लगाएत पत्रकारहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
उक्त दीक्षान्त समारोहमा नगर उपप्रमुख रतन बहादुर सिहँ, डिएसपी भरत शाह र प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले दीक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई दिनुहुँदै शुभकामना मन्तब्य राख्नुभएको थियोे । जयपृथ्वी नगरपालिकाले २०७८ फागुन महिनामा नगर प्रहरीकोलागि भर्ना खोलेको थियो । त्यस लगत्तै पालिकाले कार्यविधि तयार गरेर ११ जना नगर प्रहरीलाई छनोट गरेको थियो ।