बझाङमा हिमपात भएको छ । जिल्लाका उच्च हिमाली क्षेत्रहरुका गय रातिबाट हिमपात भएको हो । साइपाल, सुर्मा, दुर्गाथली, केदारस्युँ, छबिसपाथिभेरा, मष्टा, तलकोट, थलारा, खप्तडछान्ना, बित्थडचिर गाउँपालीका, जयपृथ्वी र बुंगल नगरपालिका लगायत सबै स्थानीय तहका उच्च भेगहरुमा हिमपात भएको बझाङ्गका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । हिमपातपछि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत सेवा बन्द हुँदा बझाङका स्थानीय मारमा परेका छन् ।
हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए । विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यस तर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।
यस्तै घाम नलागेका कारण कतिपय पालिकाहरूमा रहेका नेपाल टेलिकमको टावरमा सौर्य प्रणालीले काम नगर्दा टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । लामो समयसम्म पानी नपर्दा जिल्लाका किसानहरु चिन्तामा थिए । हिमपात भए सँगै पानी परे पछि जिल्लाका किसानहरु खुसी भएका छन् । गत भदौ महिना देखि बझाङ्गमा पानी परेको थिएन । पानी नपर्दा किसानले लगाएको हिउँदे बाली सुकेर नष्ट भएको थियो ।
पानी परे पछि आफूले लगाएको बाली अब राम्रो हुन्छ कि भन्ने आस पलाएको दुर्गाथली गाउँपालिकाका वडा नम्बर तिनका किसान जयबहादुर धामीले बताउनुभयो । अब वनजंगलमा घाँस पलाएपछि गाइ वस्तुलाई पनि आहारा हुने उहाँले आशा व्यक्त गर्नुभयो । खेतमा लगाएको तरकारी, फलफुल र अन्नवाली सुकेर नष्ट हुने बेलामा अलिकति भए पनि पानी परेर खुसि लागेको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का किसान नवराज उपाध्यायले बताउनुभयो । अहिले जिल्लाका ९६ प्रतिशत मानिसहरु कृर्षी तथा खेतिपाती गर्छन् । बझाङ्गमा करिब अठार हजार हेक्टर जमिनमा कृर्षि गरिन्छ ।
सुदूरपश्चिमका उच्च हिमाली तथा पहाडी जिल्लाहरुमा आज हिमपात भइरहेको छ । यो यस वर्षको पहिलो हिमपात हो । शुदुरपश्चिममा यसपाली लामो समय पछि हिमपात भएको हो । प्रदेशका बझाङ्ग, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुल्ला र डडेलधुराका अधिकांश ठाउँमा हिमपात भैरहेको छ ।