बझाङका अधिकांश पालिकाले बेरुजु रकम घटाएकोमा तीन पालिकाले भने गत वर्षभन्दा यो वर्ष बेरुजु रकम बढाएका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्षको तुलनामा जिल्लाका १२ स्थानीय तहमध्ये ९ वटा पालिकाले बेरुजु घटाएकोमा बित्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका र साइपाल गाउँपालिकाले भने गत आर्थिक वर्षको तुलनामा यो वर्ष बेरुजु बढाएका हुन् ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार २०७८/०७९ मा बझाङका १२ स्थानीय तहको बेरुजु रकम ६७ करोड बढी पुगेको थियो । अहिले घटेर जिल्लाका सबै पालिकाको बेरुजु ३८ करोड ९० लाख ७१ हजार पुगेको छ। सबैभन्दा बढी बेरुजु बित्थडचिर गाउँपालिकामा देखिएको छ। बित्थडचिर गाउँपालिकामा कुल परीक्षण गराएको १ अर्ब १४ करोड ६६ लाख २५ हजारमध्ये ५ करोड ५२ लाख ९३ हजार अर्थात ४.८२ प्रतिशत बेरुजु देखिएको छ । गतवर्ष यस पालिकामा ४ करोड ६१ लाख ९४ हजार बेरुजु थियो ।
सबैभन्दा कम मष्टा गाउँपालिकाको छ। जहाँ १ अर्ब ८ करोड २५ लाख ५८ हजारको परीक्षणमा ६८ लाख ३२ हजार अर्थात ०.६३ प्रतिशत बेरुजु देखिएको छ। गतवर्ष यस पालिकामा १ करोड २९ लाख ३९ हजार बेरुजु देखिएको थियो । केदारस्युँ गाउँपालिकामा १ अर्ब ४४ करोड ८१ लाख ८० हजार लेखापरीक्षण गरिएकोमा ५ करोड ३७ लाख ५४ हजार अर्थात ३.७१ प्रतिशत बेरुजु रहेको छ । गतवर्ष यस गाउँपालिकामा ११ करोड ६९ लाख७३ हजार बेरुजु रहेको थियो ।
त्यस्तै यस अघि सबैभन्दा बढी बेरुजु आउने गरेको बुंगल नगरपालिकाले यो वर्षभने बेरुजु घटाएको छ । बुंगल नगरपालिकामा परिक्षण गरिएको १ अर्ब ६२ करोड ८१ लाख ३३ हजार मध्ये २.४९ प्रतिशतअर्थात ४ करोड ५ लाख ३९ हजार बेरुजु देखिएको छ। गतबर्ष सबै भन्दा बढी बुंगल नगरपालिकामा १२ करोड ९२ लाख २८ हजार बेरुजु रहेको थियो । जयपृथ्वी नगरपालिकामा १ अर्ब ४३ करोड ३५ लाख ८५ हजार लेखापरिक्षण गरिएकोमा ३ करोड ५९ लाख ४० हजार अर्थात २.५१ प्रतिशत बेरुजु देखिएको छ । गत वर्ष यस नगरपालिकामा ४ करोड ४३ लाख २४ हजार बेरुजु थियो। छविसपाथिभेरा गाउँपालिकामा गत वर्ष ३ करोड २१ लाख ४१ हजार बेरुजु रहेकोमा यो वर्ष बढेको छ। १ अर्ब १८ करोड ७७लाख ६३ हजार परिक्षण गरिएकोमा ३ करोड ८८ लाख ६८ हजार अर्थात ३.२७ प्रतिशत बेरुजु देखिएको छ । खप्तडछान्ना गाउँपालिकाको १ अर्ब ३१ करोड १८ लाख ६४ हजार लेखापरीक्षण गरिएको मध्ये ९१ लाख ३३ हजार अर्थात ०.८१ प्रतिशत बेरुजु देखिएको छ । गत वर्ष यस पालिकामा ४ करोड ४१ लाख १८ हजार बेरुजु देखिएको थियो ।
साईपाल गाउँपालिकामा ६५ करोड ४२ लाख ५ हजार लेखापरीक्षण गरिएको मध्ये ४ करोड ५५ लाख ३३ हजार अर्थात ६.९६ प्रतिशत बेरुजु रहेको छ। गत वर्ष साइपाल गाउँपालिकामा १ करोड ६३ लाख १८ हजार मात्रै रहेको थियो अहिले साइपाल गाउँपालिकाले पनि बेरुजु रकम बढाएको छ । तलकोट गाउँपालिकामा ७८ करोड ४६ लाख १५ हजार लेखापरीक्षण गरिएकोमा २ करोड ५० लाख १६ हजार अर्थात ३.१९ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएकोछ । गतवर्ष ५ करोड ८५ लाख ३५ हजार बेरुजु रहेको थियो ।
यस्तै, थलारा गाउँपालिकामा १ अर्ब ११ करोड १३ लाख ९९ हजार लेखापरीक्षण गरिएको मध्ये २ करोड ४७ लाख ९८ हजार अर्थात २.२३ प्रतिशत बेरुजु रहेको छ । गतवर्ष यस गाउँपालिका ८ करोड ४१ लाख ४७हजार बेरुजु रहेको थियो । दुर्गाथली गाउँपालिकामा ८३ करोड ४७ लाख ७५ हजार लेखा परिक्षण गरिएकोमा २ करोड ५७ लाख ५६ हजार अर्थात ३.०९ प्रतिशत बेरुजु रहेको छ । गतवर्ष यस पालिकामा ६ करोड ८१ लाख ३९ हजार बेरुजु देखिएको थियो। सुर्मा गाउँपालिकामा ६२ करोड ३० लाख ६७ हजार लेखापरीक्षण गरिएको मध्ये २ करोड ७६ लाख ९ हजार अर्थात ४.४३ प्रतिशत बेरुजु रहेको छ । गतवर्ष यस पालिकामा २ करोड ६४ लाख ३६ हजार बेरुजु देखिएको थियो ।
सार्वजनिक वित्तीय प्रशासनको प्रत्येक वर्ष बेरुजु बढ्दै जानु आर्थिक पालनाको स्थिति कमजोर रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। वित्तीय स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वयन लेखाङ्कन र प्रतिवेदन प्रणालीमा सुधार गर्नु आवश्यक ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । ऐन नियमअनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीय तहमा बेरुजु रकम बढ्दै गएको हो ।