भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी प्रहरीसँगको भिडन्तमा पक्राउ परेका हुन् । प्रहरीको फरार सूचीमा रहि जनही २५ हजार रुपैँया पुरस्कार तोकिएका उनीहरुलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगरका एसपी सत्यनारायण प्रजापतीले बताउनुभयो ।
उनीहरुलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीन जना सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी भिडन्तमा पक्राउ परेको र उनीहरु तीनै जनाको खुट्टामा गोली लागेको बताएको छ । अझैं चोरीमा संलग्न दुईजना अभियुक्त फरार रहेको मुजफ्फरनगर प्रहरीले जनाएको छ । एसपी सत्यनारायण प्रजापतीका अनुसार भारतमा मजदुरी गर्न गएका उनीहरुले गएको फागुन १२ गते मुजफ्फरनगर जिल्लाको मेहता क्लब नजिकै बस्ने स्थानीय व्यापारी नीरज जैनको घरबाट चोरी गरेका थिए । यस चोरी घटनामा सुनिल खड्का मुख्य योजनाकार रहेको र उनलाई प्रताप खड्का र अंकित जोशी सघाएका थिए ।
बिहीबार राति मण्डी कोतवाली प्रहरीसँगको भिडन्तमा तीनै अभियुक्त घाइते भएका छन् । उनीहरुको साथबाट एक थान नम्बर नभएको मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद भएको छ । घाइतेहरुको अस्पतालमा उपचार गराएपछि उनीहरुलाई कारबाही गरिएको हो । अन्य दुई अभियुक्तलाई पक्राउ गर्न तीन टोली गठन गरिएको र छिट्टै पक्राउ गरिने प्रहरीको भनाई छ ।
मण्डी कोतवाली प्रहरीले उक्त गिरोह नेपालबाट आएर दिल्लीमा नेपाल बसोबास गर्नेहरुको बस्तीमा रहेको जनाएको छ । व्यापारीको घरमा काम गर्ने सुनिल खड्का नोएडाबाट एजेन्टमार्फत काम गर्न गएका थिए । चोरी गर्नुअघि उनले कञ्चनपुर जिल्लाको कानपुर कलकत्ता गाउँपालिकाका आफ्ना चार सहयोगी प्रताप खड्का, अंकित जोशी, राजकुमार जोशी र नेपालकै मोहत्री रहेका उत्तर प्रदेशको बाङ्ग्रा जिल्लाको बांगरा गाउँका माधव भनिनेबलिरामलाई मुजफ्फरनगरमा बोलाएको थिए ।
उनीहरु प्रहरीको मोष्ट वान्टेट सुचीमा रहेको र उनीहरुलाई भेटाउनेलाई २५ हजार जनही पुरस्कार समेत तोकेको थियो ।