सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । सेती नदीले सेती नदीमा आएको बाढी थलारा गाउँपालिका-९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका वडा नम्बर १ को पथुडातिर सोझिदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरि १८ परिवार विस्थापित भएका हुन् । झ्याबगर गाउँ दुई वटा भंगालोको बीचमा परेको छ । गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन् ।
‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ झ्याँबगरका स्थानीय समेत रहेका थलारा गाउँपालिका -९, का वडा अध्यक्ष लोकेन्द्र बिस्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ । जुन सुकै बेला पनि गाउँ बगाउन सक्छ।’
बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घर भित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक
विद्यालयका शिक्षक समेत रहेका अर्का स्थानीय नविनबहादुर बिस्टले बताए । यस्तै केदारस्युँ १ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै आँगनका रोपेका खेतहरु बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताए । उनले भने,‘हेर्दाहेर्दा रोपेका खेतहरु बगिसके । अब घर बग्न बेर लाग्दैन । हामी चार परिवारले घर छोडिसक्यौं अझैं तीन घरका पनि विस्थापित हुने क्रममा छन् ।’
सेती नदीले केदारस्युँ १ को देउरा पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ का झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरि कटान सुरु गरेको छ।
जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेवसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेवसाइटमा उल्लेख छ । शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जल सतह शनिवार साँझ सम्म निरन्तर बढेको बढ्यै छ ।
लगातारको बर्षा पछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुई वटा पोल बगाउँदा बझाङको विद्युत सेवा पनि अबरुद्ध भएको छ । सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सर्तक रहन जिल्ला प्रशाशन कार्यालयले शुक्रबार देखी नै निरन्तर सर्तकता सुचना जारी गरिरहेको छ ।
जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै
लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको आवागमन प्रभावित हुँदै आएको छ । चार दिन झरी पर्दा जयपृथ्वी राजमार्ग पाँच पटक अवरुद्ध भइसकेको छ ।
जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा- १ को जालेबगर, जयपृथ्वी नगरपालिका -७ तमैल तथा माल्नालाग्ने भीरमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसिरहेका छन् । तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसिरहेका हुँदा दिनभर यातायात अवरुद्ध भइरहेको छ । यस्तै अहिले साँझ प्राप्त खबर बैतडी सिगास गाउँपालिका वड नं ९ आलुगैरास्थित माथीबाट पहिरोसँगै रुख खसेर पूणर् रुपमा सडक अबरुद्ध भएको छ ।
वर्षासँगै आएको बाढीले बझाङ जिल्लाका अन्य शाखा सडकहरू पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् । मष्टा, सुर्मा, खप्तडछान्ना, बुंगल, थलारालगायतका पालिकाका दर्जनौं सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको हो ।