आजदेखि विक्रम संवत् २०७८ आरम्भ भएको छ। बिदा भएको २०७७ नेपालका लागि त्यति सुखद रहेन। अर्थतन्त्र र राजनीतिमा धेरैजसो निराशालाग्दा चित्रहरू देखापरे। गत वर्ष जनवरीबाटै विश्वलाई हल्लाउँदै आएको कोभिड–१९ ले नेपाललाई यस वर्ष पनि नराम्रोसँग गाँज्यो। वर्षको पहिलो तीन महिना त पूर्ण लकडाउनको अवस्था रह्यो। अर्थतन्त्रलाई यसले नराम्रोसँग कमजोर बनायो। २०७७ साउनबाट बढ्दै गएको संक्रमणको ग्राफ पछिल्लो समय ओह्रालो लागेर सुस्ताए पनि वर्षको अन्त्यमा आउँदा फेरि उकालो लागेको छ। कोरोना महामारीलाई नियन्त्रण गर्नमा कतिपय सरकारी प्रयास कमजोर र निकम्मा देखिए। खासगरी सीमान्त क्षेत्रमा क्वारेन्टिनहरूको व्यवस्थापन अमानवीय नै देखियो। उपचारको व्यवस्थापनमा पनि सरकारी अधिकारी उपचार सहज बनाउनमा भन्दा नीतिगत भ्रष्टाचारका माध्यमबाट धन कमाउन खोजेको आरोपमा परे। तर, माघ महिनामा आएर सरकारले कोरोनाविरुद्धको खोप व्यवस्थापनमा देखाएका प्रयासहरू प्रशंसायोग्य रहेका थिए। पहिलो डोज खोप लगाएकाहरूलाई दोस्रो डोज लगाउने खोप आपूर्ति नै हुन सकेको छैन।
सबै घटनाले गत वर्ष नेपालमा समृद्धिका लागि गरिएका प्रयासले धक्का खाएको देखाएका छन् । आउने वर्ष यी समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना ।
कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ। ४० वर्षपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन गयो। औपचारिक अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौँले रोजगारी गुमाए। अहिले पनि अर्थतन्त्रले लय समातेको छैन। खासगरी पर्यटन, मनोरञ्जन र सञ्चार क्षेत्र यसबाट नराम्रोसँग थला परेको छ। अझै त्यसले गतिलिने संकेत सम्भावना देखिएको छैन। पछिल्लो समय फेरि बढ्न थालेको नयाँ प्रकृतिको कोरोनाको संक्रमणले अर्थतन्त्रसामु चुनौती खडा गरेको छ। कोरोनाकै कारण कला, संस्कृति र सहित्यका क्षेत्रमा उल्लेख्य गतिविधि भएनन्। सिनेक्षेत्र त नराम्रोसँग थला परेको छ। शिक्षा क्षेत्रमा पनि यसले नकारात्मक प्रभाव पारिरहेको छ। अर्थतन्त्र र विकासका क्षेत्रमा यो वर्ष मेलम्ची परियोजना सम्पन्न हुनु सबैभन्दा सकारात्मक विषय बन्यो।
यता राजनीतिका क्षेत्रमा यो वर्ष निकै नमीठो अनुभव लिएर गयो। वर्षको प्रारम्भमै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशलाई संविधानले स्थापित गर्दै लगेको लिक बाहिर पुर्याउन प्रधानमन्त्रीले सक्रियता देखाएपछि नै राजनीति धमिलिन थालेको हो। पछि उनले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरताको बाटोमा देशलाई धकेले, संसद् पुनस्र्थापना भए पनि विघटनका प्रभावबाट देश अहिले पनि मुक्त हुन सकेको छैन, बरु थप जटिलतातिर फस्दै गएको छ। वर्षको अन्त्यमा आउँदा प्रधानमन्त्री प्राविधिक बहुमतका साथ सत्तासीन छन्, तर राजनीतिक रूपमा उनको विकल्प दिन नसकेर प्रतिपक्षी दलहरूसँगै संसद् असफल देखिन थालेको छ। संघीय संसद् भूमिकाविहीन बनाइँदै छ।
प्रदेश संसद्हरूको अवस्था पनि उस्तै छ। सर्वोच्च अदालतले नै सत्तारुढ नेकपाको विभाजन गरिदिएपछि आरम्भ भएको राजनीतिक अस्थिरताको सिकार बन्दै गएका प्रदेश सरकार र प्रदेश संसद्हरू अन्योलमा छन्। यता नेकपा (एमाले)भित्र देखिएको विभाजनले राजनीतिलाई थप विकृत र बद्नाम बनाउँदै लगेको छ। यस वर्ष मात्रै दुईवटा दल एकीकृत भएर बनेको समाजवादी जनता पार्टी वर्षको अन्तिममा आउँदा विभाजनउन्मुख देखिएको छ। यस वर्ष भएको एउटा राम्रो काम लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा बनाउन र त्यसलाई संविधानको अंग बनाउन जुटेको सर्वदलीय सहमति पनि हो। यी सबै घटनाले गत वर्ष नेपालमा समृद्धिका लागि गरिएका प्रयासले धक्का खाएको देखाएका छन्। आउने वर्ष यी समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस्। सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना।