बझाङ : बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा जिप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना र चट्याङ लागेर सोमबार मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारी सहित सात जनाको सामूहिक अन्त्येष्टी गरिएको छ ।
बुधबार जिल्ला अस्पतालमा शव पोष्टमार्टम पछि सबैको सामूहिक दाहसंस्कार गरिएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले जानकारी दिए ।
वडा सदस्य भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप दुर्घटनामा परेर चालक सहित मंगलबार ६ जनाको मृत्यु भएको थियो । चार जनाको घटनास्थलमै र दुईजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
वडा सदस्य भण्डारीका सहोदर दाजु ५० बर्षीय जीतसिंह भण्डारी सहित ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै चालक तेजबहादुर बोहरा र स्थानीय ५० बर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
जिप दुर्घटनामा परी मृत्यु भएका ६ जना र चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारी सहित सात जनाको बुधबार दशरथचन्द नगरपालिका १० मौराकाठा महाकाली किनारमा सामूहिक रुपमा अन्तिम दाहसंस्कार गरिएको हो ।
उनीहरु सातै जनाको बुधबार जिल्ला अस्पतालमा शव परीक्षण पश्चात आफन्तले अन्त्येष्टि गरेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
वडा सदस्यको मृत्युले दुःखित भएको रोडीदेवल गाउँ थप ६ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ।
अहिले घाइते भएका ३ जना उपचाररत छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। ३० वर्षीय हरीसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। भने, अर्का घाइते मोहनसिंह भण्डारी जिल्ला अस्पताल बैतडीमा उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ।
साँघुरो घुम्तीमा मोड्न नसक्दा जीप दुर्घटनामा परेको प्रहरीको निस्कर्ष छ।
क्षतिपुर्ति दिनुपर्ने माग
र्घटनाका पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने आवाज उठेको छ । शवको पोष्टमार्टम नगर्न भनेपनि प्रशासन र जनप्रतिनिधिको दबाब पोष्टमार्टम गर्न भनेकाले यस्तो दुर्घटना भोग्नुपरेको स्थानीयहरुले आरोप लगाएका छन् । सो घटनामा एकै गाउँका ६ जनाको अकल्पनीय निधन भएकाले मृतकका परिवारलाई राज्यले उचित क्षतिपूर्ती दिनुपर्ने बैतडीका स्थानीय युवा खेम साउँदले बताए । उनले भने ‘यो घटनाका राज्यकै कारणले भएको छ । दुर्घटनामा परेर आफ्ना आफन्त गुमाएकाहरुका लागि राज्यले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’
पोष्टमार्टमका लागि शव लैजाँदै गर्दा थप ६ जनाको ज्यान जानु निकै दुखद भएको र यसमा सरकारले क्षतिपूर्ती दिनुपर्ने नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले आग्रह गरे ।
शवको परीक्षणमा खटिएका स्थानीय सरकारी काममा खटिए सरह भएकाले पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्नेमा उनले जोड दिए । उनले भने ‘ प्राकृतिक विपत्तीका कारण मृत्यु भएकाको शव परीक्षणका लागि खटिँदा एकै गाउँका ६ जनाको दुखद निधन भएको छ । यसका लागि राज्यले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’
दुर्घटनामा परी दिवंगत भएकाहरुको घरपरिवारको पालनपोषण, बालबालिकाहरुको शिक्षा दिक्षाका लागि राज्यले जिम्मा लिनुपर्ने साउँदले बताए ।
सरकारी पक्षकै कमजोरीका कारण मंगलबारको घटना भएकाले पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए ।
यो बिषयमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पीडित परिवारको राहतका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले भने ‘कार्यपालिकाको बैठकबाट मृतकका परिवारलाई राहत पुग्ने गरेर क्षतिपूर्ती दिने निर्णय गर्दछौं । मृतकका परिवारलाई रोजगार मिल्ने गरेर केही कार्यक्रम ल्याउँछौं ।’