बझाङ : यार्सा संकलन गर्ने सिजन सुरु भएसँगै बझाङमा यतिबेला संकलकहरु लेकतिर जान थालेका छन् । जिल्लाका तीन वटा पालिका बुङ्गल नगरपालिका, सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाका लेकहरुमा यतिबेला यार्सा संकलन गर्नेहरुको भीड रहेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका हजारौं संकलकहरु यार्सा संकलनका लागि ती पालिकाका लेकहरुमा जाने गर्दछन् । साइपाल गाँउपालिकाको माझा, कालापानी, राइढुङ्गी, साइपाल लगाएतका वनमा यार्सा संकलनका लागि हजारौं संकलकहरु लेकतिर गएको साइपाल गाँउपालिका वडा नं. १ का बसन्त बोहराले बताउनुभयो ।
बैसाखदेखि साउन महिनाको पहिलो सातासम्म यार्सा संकलन गर्ने सिजन रहन्छ । चैत्रको अन्तिम सातादेखि नै जिल्लामा कोरोना संक्रमण देखिएको र भारतबाट आएर क्वारेन्टाइनमा नबसेका तथा क्वारेन्टाइनबाट भागेर यार्सा संकलन गर्न आउने गरेको स्थानीय बसन्त बोहराले बताउनुभयो । जिल्लाका अन्य पालिका, जिल्ला बाहिर र भारतबाट आएर सिधै यार्सा संकलनको लागि गाँउपालिका छिर्ने गरेकाले यसले साइपाल गाँउपालिकामासमेत कोरोनाको जोखिम बढाएको बोहराले बताउनुभयो ।
“महामारीको रुप लिएको कोरोनाबाट गाउँपालिकालाई सुरक्षित राख्नुको साँटो गाउँपालिकाले समयमै कुनै पनि निर्णय लिन सकेन । गाँउपालिकाले पालिकालाई सुरक्षित राख्नको लागि पहल थाल्नुपर्नेमा उल्टै पालिकाले राजश्वको लोभ गरेको छ ।” बोहराले बताउनुभयो । गाउँलाई सुरक्षित राख्नका लागि गाउँपालिकाले यार्सा संकलनका लागि पालिका भित्रनेहरुको पिसिआर रिर्पोट अनिवार्य गर्नुपर्ने बाहोराको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले स्थानीयहरुको समस्यालाई बुझेर यार्सा संकलनको व्यवस्था गरिएको बताउनुभयो । सवैको पिसिआर रिर्पोट परिक्षण गराउन भुगोलको समस्या भएकाले यार्सा संकलकहरुलाई सहज वातावरण मिलाएको अध्यक्ष धामीको भनाई छ । साइपाल गाँउपालिकाभित्र यार्सा संकलन गर्न आउनेहरुका लागि गाउँपालिकाको दुई स्थानमा हेल्थडेस्क राखिएको र त्यहाँ सामान्य खालको ज्वरो परिक्षण गरि यार्सा संकलन गर्नको लागि अनुमति दिने गरेको छ ।
साइपाल गाउँपालिकाका दुई स्थानमा गाउँपालिकाले यार्सा संकलकबाट राजश्व संकलन गर्ने व्यवस्था मिलाएको छ । वडा नं. १ र २ को धलौनमा र वडा नं. ५ को वलौडीमा यार्सा संकलकहरुका लागि हेल्थडेस्क र राजस्व संकलन काउन्टर राखिएको छ । यार्सा संकलनको लागि बाहिरी पालिकाबाट संकलकहरु आउने गरेका छन् भने साइपाल गाँउपालिकाभित्रका करिब ७५ प्रतिशत यार्सा संकलनका लागि लेकतिर जाने गरेको साइपाल गाउँपालिका वडा नं. २ मा स्थापना गरिएको हेल्थडेस्कका प्रतिनिधि नरेन्द्र धामीले बताउनुभयो । कोरोना महामारीका बेला सचेतना नअपनाएर बाहिरी जिल्लाका यार्सा संकलकलाई संकलनको अनुमति दिएर गाउँपालिकामा जोखिम बढाएको साइपाल गाउँपालिका -४ धुलीकी रमीला बोहराले बताउनुभयो ।
वर्षेनी साइपाल गाउँपालिकामा यार्सा संकलनका लागि मात्र ५देखि ७ हजार संकलकहरु जाने गरेको भए पनि यस सिजनमा यो संख्या ४० देखि ५० प्रतिशतले घटेको गाउँपालिका अध्यक्ष राजेन्द्र बोहराले बताउँछन् । कोरोनाको जोखिम बढेको र धेरैजसो मानिस जिल्ला भित्रन नपाएका कारण यार्सा संकलन गर्न जानेहरुको संख्यामा कमी आएको उहाँको छ । आर्थिक बर्ष २०७६-०७७ मा पनि कोरोना महामारीले विकराल रुप लिने भन्दै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले यार्सा संकलनमा रोक लगाएको थियो । दोस्रो लहरमा फैलिएको कोरोना महामारी पहिलो भेरियन्टको भन्दा तीन गुणा बढी जोखिमयुक्त भए पनि सम्बन्धित निकायको यसमा ध्यान जान सकेको छैन ।
साइपालमा महामारीको डर
स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानु जोशीले भने साइपालमा यार्सा संकलन गर्न गएकाहरुबाट जोखिम बढेको बताउनुभयो । गाउँपालिकाले सुरुदेखि नै साइपाल र सुर्मा गाउँपालिकामा यार्सा संकलनका लागि रोक लगाउनुपर्ने भए पनि गाउँपालिकाले त्यसो नगरेका कारण गाउँपालिकामा जोखिम बढेको उहाँको भनाई छ। कतिपय व्यक्ति भारत लगाएतका अन्य मुलुकबाट आएका र सिधै विना परिक्षण यार्सा संकलनका लागि गएको बताउँदै स्वास्थ्य कार्यालय प्रमुख जोशीले विना जाँच प्रवेश गर्न दिए महामारीको रुप लिनसक्ने आँकलन गर्नुभयो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकबाट साइपाल लगायतका यार्सा संकलन हुने क्षेत्रमा कोरोनाको जस्तै लक्षण देखिने वित्तिकै एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गर्ने र बाँकी सम्पूर्ण जिम्मेवारी गाँउपालिकाले लिनुपर्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताउनुभयो ।
यता यार्सा संकलन हुने क्षेत्र साइपाल र सुर्मा गाउँपालिकाका जनप्रतिनिधीहरुले प्रशासनमा कुनै जानकारी नगराएका कारण संकलकहरुलाई रोक्न नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । चैत्रको अन्तिमबाट नै यार्सा संकलन गर्न गएको भए पनि गाउँपालिकाले जानकारी नगरेका कारण साइपाल र सुर्मामा यार्सा संकलन गर्न गएकाहरुलाई अफ्ठ्यारो पर्दा गाँउपालिकाले नै व्यवस्थापन गर्ने सहमतीमा यस पटक यार्सा संकलन गर्न दिइने समेत प्रजिअ अधिकारीले बताउनुभयो ।