बाजुरा : एकातिर बडिमालिका, अर्कोतिर बूढीनन्दा, थोरै माथि उक्लिए राराको दृश्यावलोकन। केही ओरालो झरे भूस्वर्ग खप्तड। सुदूरको आकर्षणका रूपमा रहेका यी भूधरातलको बीचैमा रङ फेर्दै अनवरत बगिरहेको नागबेली कर्णाली। कर्णाली र बाजुराको सुन्दरता बयान गर्ने एउटा देउडा सुदूरपश्चिममै प्रख्यात छ।
कहिले समथर भूभागमा शान्त बग्ने र कहिले अनेक खोंचहरू छिचोल्दै हुम्ला, मुगु, बाजुरा, कालीकोट, सुर्खेत, कैलाली हुँदै भारतको गंगामा समाहित हुने यही कर्णाली नदीमा सञ्चालित जलविहार (र्याफ्टिङ) ले स्थानीय तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ।
गत साता राजधानी काठमाडौं, जनकपुरलगायत विभिन्न ठाउँबाट कर्णाली नदीमा र्याफ्टिङ गर्न बाजुराको कोल्टी क्षेत्र पुगेकाहरूले कर्णाली नदीमा जलविहारको आनन्द लिए। ‘बाजुराको हिमाली गाउँपालिकाको धुलाचौरदेखि बूढीनन्दा नगरपालिकाको पिलुचौरसम्म र्याफ्टिङ गर्दा भएको खुसी बयान नै गर्न सकिँदैन,’ डडेलधुराका नवराज भण्डारीले भने, ‘यति धेरै रमाइलो ठाउँ होला भन्ने कल्पना गरेकै थिइन।’
कर्णाली नदीमा जल विहार गर्दा आफू निकै रोमाञ्चित भएको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले बताए। ‘फरक फरक तर सुन्दर भूगोल हेर्दै कर्णालीमा र्याफ्टिङ गर्नुको आनन्द अविस्मरणीय छ,’ उनले भने, ‘यहाँ जल विहारसँगै हिमाली जलवायु र जनजीवनको पनि अवलोकन गर्न मिल्ने भएकाले साहसिक पर्यटन रुचाउनेका लागि योभन्दा राम्रो गन्तव्य अरू हुन सक्दैन।’
समग्र बाजुराकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्वामिकार्तिक खापर गाउँपालिकाले दुई वर्ष अघिदेखि कर्णाली नदीमा र्याफ्टिङ सुरु गरेको हो। स्वामिकार्तिक गाउँपालिकाले तीनवटा र्याफ्टिङ बोट खरिद गरेर स्थानीय रारा टुर्स एन्ड कर्णाली ट्रेल प्रालिलाई व्यवस्थापनको जिम्मेवारी दिएको छ। ‘नेपालकै सबैभन्दा लामो नदीका रूपमा रहेको कर्णाली नदीको उपल्लो तटीय क्षेत्र उसै पनि प्राकृतिक रूपमा अनुपम छ,’ गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने, ‘यसमा र्याफ्टिङ थपियो भने यहाँको पर्यटन विकासमा सहयोग पुग्छ भन्ने सोचले हामीले सुरुवात गरेका हौं।’
उनले करिब दुई वर्षको अवधिमा सुदूरपश्चिमलगायत नेपालका विभिन्न जिल्लाबाट आएका करिब १ हजार २ सय जनाले जल विहार गरेको बताए। ‘कम्पनीले आम्दानी गरेको ५१ प्रतिशत पालिकालाई र ४९ प्रतिशत कम्पनीले पाउने सम्झौता गरेका छौं, उनले भने, ‘अहिले करिब ८ लाख रुपैयाँ पालिकालाई आम्दानी भएको छ।’ कर्णालीमा जल विहार गर्दा दूरीअनुसार शुल्क लिने गरिएको व्यवस्थापक जनेश भण्डारीले बताए। फागुनदेखि वैशाखसम्म र्याफ्टिङ गर्न मौसम पनि उपयुक्त हुने भएकाले गर्मी बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू लामो–लामो यात्रा गरेर पनि कर्णाली नदीमा र्याफ्टिङ गर्ने गरेको भण्डारीले बताए। ‘अरू सिजनभन्दा गर्मीमा बढी मानिस आउने गरेका छन्। र्याफ्टिङसँगै यहाँको भौगोलिक सुन्दरता हेर्न पनि टाढा–टाढाबाट पर्यटकहरू यहाँ आउने गरेका छन्।’
हिमाली गाउँपालिकाको धुलाचौरदेखि स्वामिकार्तिकको पिलुचौरसम्म १० किमिको एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ। प्रतिकिमि प्रतिव्यक्ति एक सय रुपैयाँका दरले शुल्क लिने गरिएको उनले बताए। र्याफ्टिङ सञ्चालन भएपछि रिभर गाइड र सहयोगी गरी चार जना स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्।
चर्चित पर्यटकीय गन्तव्य रारा जाने बाटोमा पर्ने स्वामिकार्तिक गाउँपालिकाले रारा जाने र फर्किनेका लागि कर्णालीमा जल विहार गर्न प्रोत्साहित गर्ने सोचका साथ काम गरिरहेको स्वामिकार्तिक गाउँपालिकाकी उपाध्यक्ष मीमा बुढाले बताइन्। कर्णाली नदीमा कम्तीमा १५ देखि २० किमिसम्म र्याफ्टिङ गर्न सकिने व्यवस्था रहेको बताउँदै उनले भनिन्, ‘राराको दृश्यावलोकन गरेर फर्किने र रारा हेर्न जानेहरू यो बाटो आए भने र्याफ्टिङमा रमाउन् भन्ने हाम्रो उद्देश्य हो।’ बाजुराको कोल्टीसम्म नेपालगन्ज र धनगढीबाट जहाजको सुविधा छ। सडक यातायात पनि नियमित सञ्चालनमा रहेकाले बाजुराको बाटो भएर रारा जानेहरूको संख्या पछिल्लो समय बढ्न थालेको छ। बाजुराको हिमाली गाउँपालिकाको रातामाटाबाट मुगुको रारा छायानाथ गाउँपालिकाको बाउँपानीसम्म गाडी चल्ने गरेको छ। बाउँपानीबाट दुई घण्टाको पैदल यात्रापछि रारा पुग्न सकिन्छ।