बझाङ : बझाङको साइपाल गाउँपलिकाका यार्सा संकलन क्षेत्रमा प्रवेश भएका संकलकहरुलाई नि:शुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा संकलन क्षेत्र राइढुंगी, माँझा, औलागाड लगायतका ठाउँहरुमा रहेका यार्सा संकलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको काँडा स्वास्थ्य चौकीका अहेब लोकेन्द्र जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो “यार्सा संकलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्ने जस्ता समस्या भएका विरामीहरु देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीहरुका लागि निःशुल्क औषधी तथा स्वास्थ्य परामर्श सेवा दिएका छौं । ”
स्वास्थ्यकर्मीको टोलीले यार्सा संकलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै नि:शुल्क औषधीसमेत वितरण गरेको छ । गाउँपालिकाले निशुल्क स्वास्थ्य परामर्श तथा औषधी वितरण गर्न स्वास्थ्यकर्मीहरुको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा संकलन गर्न औलागाड पुगेका यार्सा संकलक खगेन्द्र बोहोराले बताउनुभयो ।
उहाँले भन्नुभयो “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा संकलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलै काँही त खाना पनि राम्ररी नपाकेरै खान्छौ । कहिलै हप्ता दिन सम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरेर आफुहरुलाई ठूलो राहात भएको छ ।”
साइपालको दोदलेमा भेडाबाख्रा चराउँदै आएकी विस्ना थापाले आफ्नो खुट्टा दुखेको र त्यस्को उपचार तथा मलमको लागि स्वास्थ्य चौकी तथा सदरमुकाम धाउनु पर्ने अवस्था थियो । औषधीसहित डाक्टर लेकको पालमै आउँदा भगवान आएको अनुभूती भएको बताउनुभयो । हिमाली क्षेत्रमा यार्सा संकलन तथा अन्य व्यवसायी गर्ने मध्ये ७ जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने, र अरु सामान्य ज्वरो आएका बिरामी गरि जम्मा १५० पालमा स्वास्थ्य परामर्श तथा निशुल्क औषधी वितरण गरेको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।