नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोत/साधन सम्पन्न मुलुक हो जसले कृषि विकासका लागि अथाह संभावना बोकेको छ। स्थानीय भूगोल, हावापानी, माटो, स्थानीय बालीनाली, जीवजन्तुले नै हाम्रो उत्पादन, खानपान, जीविकोपार्जन, रीतिरिवाज र संस्कृतिलाई स्वरूप दिएको छ। त्यसैले त हाम्रो देशमा विविध संस्कृति छ र छुट्टै आफ्नै पहिचान छ। विविध संस्कृति, धर्म, जातजाति, रहनसहन तथा जैविक विविधता नै हाम्रो सबल पक्ष हो।
विविधतालाई कमजोरी मान्नु भन्दा यसमा एकता खोज्नु आजको आवश्यकता हो। नेपालको पहिचान बोकेको यही सबल पक्षलाई आयातीत ज्ञान, सिप र प्रविधिको आँखाबाट दुर्बल देख्नु र यही दुर्बलतालाई सुधार्नका लागि निरन्तर आयातित शिक्षा, प्रविधि, आधुनिक खेती तथा खानपानलाई प्रश्रय दिने किसिमको योजना बन्नु अनि त्यसैअनुरूप लगानी भित्र्याउनुले हाम्रो कृषि विकासले आत्मनिर्भरताको बाटो नभई परनिर्भरताको बाटो समाएको हो कि भन्ने भान गराउँछ।
अन्य विकसित देशमा जस्तो एकैनाशको भूगोल, वातावरण, हावापानी हाम्रो देशमा नभएकाले आँखाले भ्याएसम्म एकै किसिमको बाली लगाउन तराईका केही फाँट भन्दा अन्य ठाउँमा प्राविधिकरूपले सम्भव छैन। आफ्नो पूर्वाधार, सामाजिक र आर्थिक हैसियत, उत्पादनका स्रोत तथा साधनलाई ध्यानमा राखेर थोरै लगानीमा राम्रै आम्दानी लिन सकिने स्थानीय बाली तथा प्रविधि अपनाएर कृषिमा आश्रित समुदायलाई जीविकोपार्जनमा सहयोग गर्नुको साटो महँगो प्रविधि तथा प्राविधिकमा अधिक लगानी राज्यले गरेको छ। यस्ता लगानी तथा सहयोगले केही खाद्यान्न बालीमा आत्मनिर्भर भएका भनिए तापनि कृषिजन्य उद्योग तथा उत्पादनले देशमा प्रशस्त रोजगार सिर्जना गर्न सकेको छैन। उल्टो खाना उत्पादन गर्ने काम नै खर्चिलो भएका कारण कृषिबाट विस्थापित समुदायहरू प्रवासिन बाध्य भएका छन् र हामी रेमिट्यान्समा आधारित अर्थव्यवस्थामा सञ्चालित हुन बाध्य छौँ।
यसरी हाम्रो अर्थतन्त्र दिगो पार्ने उत्पादनका क्षेत्र विशेष गरी कृषिमा लगानी बढाउँदै गर्दा एकातिर कृषिबाट गार्हस्थ्य उत्पादनमा योग्दान घटेको घट्यै छ भने अर्कोतर्फ खाद्यान्न तथा कृषि सामग्रीको आयात भने बढेको बढ्यै छ। यसबाट के प्रस्ट हुन्छ भने हामीले लिएको कृषिको बाटो नै गलत छ। विदेशी लगानी टन्नै भित्र्याउने, विदेशमा उत्पादित कृषि सामग्री (मल, बिउ, औजार, प्रविधि) किनेर उनीहरूकै प्राविधिकको सहयोगले आधुनिक खेती गर्ने, खर्चिलो खाद्यान्न तथा कृषि उत्पादन खपत गर्ने अनि केही कृषि उत्पादन निर्यात गर्ने काम नै परनिर्भर छ। यसरी आफ्नो भौगोलिक बनोट, माटो, सामाजिक तथा आर्थिक हैसियत नहेरीकन लगानीको प्रतिफल आकलन नगरिकन कृषिबाट उभो लाग्नु हाम्रो देशमा संभव छैन।
यो वास्तविकतालाई उपेक्षा गरेर आयातित प्रविधि, प्राविधिक तथा उत्पादनको सामग्रीमा बढी लगानी गर्दा एकातिर हाम्रो आफ्नो स्थानीय तथा रैथाने बालीहरू विशेष गरी धेरै उत्पादन दिने, रोग/कीरा सहन सक्ने, सुक्खा खडेरी सहन गर्ने, थोरै लगानीमा धेरै उत्पादन दिने, हावापानी सुहाउँदो बालीहरू नजानिँदो तरिकाले बिस्थापित हुँदै गएका छन्। अर्कोतर्फ लगानीअनुसारको उत्पादन वा नाफा लिन सकिरहेका छैनौँ। त्यसैले सारमा भन्नुपर्दा, यो कृषि विकासको बाटो नै अलिक लामो, सानो लगानीबाट फाइदा नहुने, अनि साधारण किसानले मल, बिउ, कृषि यन्त्र, विषादी सहजरूपमा नपाउने वा झन्झटिलो प्रक्रिया बेहोर्नुपर्ने भएकाले कृषि दुःखको पेसा बन्न पुगेको छ।
यसरी आयातित शिक्षा, अनुसन्धानले भित्र्याएको केही बालीको मात्र खेती प्रविधि, धेरै फलाउने खेती गर्न धेरै लगानी (उन्नत जात, आयातित जात, हाइब्रिड जात लगाएर त्यसका लागि चाहिने मल, जल, झार, रोग/कीराको व्यवस्था) गर्नुपर्ने भएकाले वर्षौँंदेखि खेती गर्दै आाएका कुशल किसान नया प्रविधिमा अभ्यस्त भएका छैनन्, पूरै विश्वस्त पनि हुन सकेका छैनन् र नयाँ पुस्ता पनि सहजरूपले कृषिलाई प्रमुख पेसा बनाउन सकिरहेका छैनन्। त्यसैले हातमा कृषिको सिप हुँदाहुँदै, खेतीमा निपूर्ण किसान उत्पादनका लागि चाहिने कृषि सामग्रीहरूको अभावमा, राज्यबाट पहिचान, संरक्षण तथा सहयोगको अभावमा कृषि पेसाबाट विस्थापित हुन बाध्य छन् भने अर्कोतर्फ हातमा नयाँ प्रविधिको पहुँच भएकाहरू, कृषिका सिप नभएकाहरू लगानी गर्नका लागि पुँजी नभएकै कारण पनि अनुदान र सहयोगका लागिमात्र कृषिमा आकर्षित देखिन्छन्।
त्यसैले एकातिर सानो भए पनि खेती गर्ने उत्पादनको थलो ‘जमिन’ एकीकृत व्यवस्थापनको अभावमा बाँझिदै गएका छन् भने अर्कोतर्फ कृषि क्षेत्रबाट बिस्थापितहरूका लागि अन्य उत्पादनका क्षेत्रमा रोजगारको अवसर पनि राज्यले दिन सकेको छैन। कृषि तथा अन्य उद्यमशीलतामा रोजगार सिर्जनाका लागि राज्यबाट ठोस प्रयास पनि भएको देखिँदैन। यसरी ६५ प्रतिशत जनसंख्याको जीविकाको स्रोत ‘खाना उत्पादन गर्ने पेसा’ लाई पुँजी भएकाले मात्र गर्ने पेसाका रूपमा उजागर गर्ने वा देखाउने प्रयास नजानिँदो तरिकाले हाम्रो देशमा मौलाएको छ। पुँजीवादी राष्ट्रहरूको सोचबाट सञ्चालित हाम्रो देशको कृषि क्षेत्र बिस्तारै जमिनबाहेक सबै कुरामा परनिर्भर बन्दै गएको छ।
एउटै समयमा विभिन्न हावापानी भएको भौगोलिक बनोटको कारण विभिन्न किसिमका बालीको बिउ उत्पादन गर्न सक्ने क्षमताको उपयोग गरी धेरै फाइदा लिनु भन्दा पनि आयातित शिक्षा, आश्रित खेती प्रविधि, स्थानीय स्रोतको प्रयोग भन्दा आयातित साधनमा केन्द्रित, खर्चिलो प्रविधिबाट मात्र खेतीपाती संभव छ भन्ने सोच, प्याकेजिङ गरिएका खाना, खाद्यान्न बिक्री÷वितरणबाट मात्र कृषि विकास संभव छ भन्ने कुरामा सबै नीति निर्माणकर्ता, अनुसन्धानकर्ता तथा लगानीकर्ताहरू विश्वस्त भई त्यसैतर्फ लगानीको वातावरण बनाउँदैछन्।
असीमित स्रोत/साधन तथा जैविक विविधताको धनी, भौगोलिक विविधता सम्पन्न हाम्रो देशलाई तथा यहाँका जनतालाई आयातित कृषि शिक्षा, अनुसन्धान तथा प्रसारमा अनुदानद्वारा कि सुलभ दरमा उनीहरूको प्रविधि खरिदका लागि ऋण दिएर कि त नीति निर्माताहरूलाई विभिन्न तरिकाबाट प्रभावित तुल्याएर विदेशीका इच्छाबमोजिम बिउ, प्रविधि, मानव स्रोत/साधन भित्र्याएर हामीलाई उठ्नै नसक्ने गरी सधैँभर परनिर्भर बनाउने प्रणालीगत प्रयासलाई नेपाल र नेपाली नागरिकले बुझ्नुपर्र्नेे बेला आएको छ। विभिन्न बालीका बिउ उत्पादन गरेर अन्य मुलुकमा समेत निर्यात गर्न सक्ने क्षमता बोकेको हाम्रो देशलाई ‘कृषिमा केही गर्न सक्दैनौँ, लगानी गर्ने पँुजी र प्रविधि तिमीहरूसँग छैन, पोलिटिकल बाउन्डरी जमिनबाहेक नेपालीसँग उत्पादनका लागि केही छैन’ भन्ने ठाउँमा पुर्याएर बिस्तारै ठुल्ठूला कर्पोरेट हाउस तथा कृषि कम्पनीहरूको विकल्प नै नेपालमा छैन भन्नेतर्फ बहस चलाउन खोजिएका देखिन्छ।
त्यसैले आजका दिनसम्म पनि हामीले हाम्रो देशलाई कृषिप्रधान देश भन्दै गर्दा कृषि पेसाबाट नेपाललाई पहिचान दिलाउन जरुरी छ। यसका लागि हाम्रो देशको भूगोल, माटो, हावापानीअनुरूप देशको पहिचान बनाउने यहाँका रैथाने बाली, आधुनिक बाली, मुख्य खाद्यान्न बालीहरूको बिउ उत्पादन, प्रशोधन, प्रमाणीकरण गर्नेखालका प्राविधिक सिप किसानलाई दिन सक्नुपर्छ। यसो भयो भने थोरै जमिनबाट पनि धेरै आम्दानी लिन सक्छौँ। थुप्रै किसान विभिन्न बालीका बिउ उत्पादक किसान बन्न सक्छन्। बिउमा उद्यमशीलता हासिल गर्न सक्छन्।
त्यसपछि बल्ल हाम्रो देश बिउमा आत्मनिर्भर बन्न सक्छ। अन्य उत्पादनका क्षेत्र वा उद्योगहरू स्थापना नहुँदासम्म कृषि पेसालाई मर्यादित तथा आत्मनिर्भर बनाउनका लागि सानो जमिनमा धेरै उत्पादन गरेर होइन, भूगोल सुहाउँदो, प्रकृतिमैत्री खेती गरी बिउमा आत्मनिर्भर बन्ने प्रयासले नै नेपाललाई दिगो तथा आत्मनिर्भर कृषितर्फ उन्मुख गराउँछ।
(असिस्टेन्ट प्रोफेसर–एग्रोनोमी, सुदूरपश्चिम विश्वविद्यालय, टीकापुर, कैलाली)