दार्चुला : दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका युवा अझै फेला परेका छैनन्। जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।
गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ। पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन्।
घरमा जयसिंहकी श्रीमती बेहोस् अवस्थामा छिन्। छेउमै उनकी आमा पनि अर्धचेत् अवस्थामा लडिरहेकी छन्।
जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। उनीहरू बेहोस् आमा र हजुरआमाबाको वरिपरि घुम्छन्। के भएको हो उनीहरूलाई थाहा छैन। जयसिंहका भाइ नरेन्द्र भने घटनापछि निरन्तर दाइको खोजीमा छन्।
‘केटाकेटीलाई त के थाहा भएको के हो, परिवार पूरै बेहोस् छन्, गाउँलेहरूले सान्त्वना दिने काम गरिरहेका छन्,’ स्थानीय जनकसिंह धामीले भने।
गाउँका महिलाहरू जयसिंहको परिवारलाई सम्झाई-बुझाई गरिरहेकै छन्। कोही जयसिंहको दाहसंस्कारको तयारीमा छन्।
‘हाम्रो यहाँको चलनमा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन छ,’ उनले भने।
गाउँलेहरूका अनुसार महाकालीमा बगेका जयसिंहको जीवित भेटिने सम्भावना निकै कम छ। यसकारण उनीहरू शनिबार अन्तिम संस्कार गर्न लागेका हुन्।
ncell in
जयसिंहकै कमाइले उनको परिवारको दैनिकी चलेको थियो। उनी नै बेपत्ता भएपछि परिवारलाई समस्या परेको स्थानीय शिक्षक सुकुन्दसिंह धामीले बताए।
‘छोराछोरी साना छन्, यस्तो अवस्थामा गाउँपालिका अथवा नेपाल सरकारले पनि कसरी के गर्ने, बालबालिकाको भविष्यका लागि भए पनि सहयोग गर्नुपर्छ,’ उनले भने।
वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतारमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्केका थिए। उनले सात वर्ष आर्मीको जागिर पनि गरेका थिए। आर्मीको जागिर छोडेपछि उनी कमाउन कतार गएका थिए।
त्यहाँबाट फर्किँदा उनले सात लाख ऋण निकालेर स्वदेश आउनुपरेको थियो। अहिले त्यही ऋण तिर्न उनी फेरि विदेश जाने तयारीमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ।
‘अब त्यो ऋण कसरी तिर्ने, घर लगाउँदा आठ लाखजति अरु ऋण लागेको छ, फेरि विदेश जाने क्रममा यस्तो घटना भयो,’ स्थानीय राइकिशन धामीले भने।
स्थानीय मैनादेवी धामीले पनि यो अवस्थामा परिवारलाई राज्यको सहानुभूति आवश्यक रहेको बताइन्।
‘उनकी श्रीमती र आमा बेहास छन्, लाखौंको ऋण तिर्न भाइलाई धेरै गाह्रो भएको छ, छोराछोरी साना छन् यस्तो बेलामा राज्यले सहयोग गर्नुपर्छ,’ उनले भनिन्।
उनका अनुसार राज्यले त्यो ठाउँमा पुल निर्माणको काम छिटो गरेको भए आज जयसिंहको परिवारमाथि यस्तो बज्रपात आउने थिएन।
‘वर्षौंदेखि यहाँका मान्छेले यस्तै दु:ख गर्नु परेको छ, यो घटना बाहिर आएपछि अहिले राज्यले हाम्रो दु:ख अहिले मात्र देख्यो, तुइनमा चढ्नु हाम्रो रहर थिएन बाध्यता हो,’ उनले भनिन्।
घटनाबारे छानविन गरी आवश्यक कारबाही गर्न माग गर्दै व्याँस गाउँपालिकाले स्थानीय प्रशाशन र गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथाकीले वडा कार्यालयले घटनाबारे छानविन र पीडित परिवारलाई तत्काल राहत दिलाइदिन माग गरेको बताए।
‘छानविन र राहतका लागि पनि आग्रह गरिएको छ,’ उनले भने। गाउँपालिकाले पनि प्रशाशन र गृहलाई पत्राचार गरेको छ।
प्रहरीले मुचुल्का बनाएर धामीको खोजी गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेन्द्र चन्दले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा जिल्लाबाट टोली गएको परिचालन भएको बताए।
‘हामीले बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पनि खबर गरिसकेका छौं, घटनास्थलमा स्थानीय चौकीबाट गएका प्रहरीले खोजिरहेका छन्,’ उनले भने।
जिल्लाबाट सशस्त्र प्रहरीका डिएसपी चन्दको नेतृत्वमा घटनास्थलमा जान हिँडेको टोली सदरमुकामबाट भारतकै भूमि हुँदै व्याँस गाउँपालिका-५ मा भएको पुल तरेर ५ घण्टा हिँडेपछि घटनास्थल पुग्ने छ।
जयसिंहसँगै तुइन तरेर पारि गएका चार जनालाई घटनाबारे सोधपुछका लागि प्रहरीले जिल्ला बोलाएको छ। जससिंहसँगै गएका साथीहरूले भारतिय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन झिकेका कारण यस्तो घटना घटेका बताएका छन्।